‘नेपाल ग्रामीण फिल्म महोत्सव’ (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहीबार रसुवाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै महोत्सव वैशाख ४ देखि ६ गतेसम्म आयोजना गरिने जानकारी दिएको हो।
प्रत्येक वर्ष फरक–फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गरिँदै आएको यस महोत्सवमा ग्रामीण परिवेशमा निर्माण भएका नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा सांस्कृतिक फिल्महरू प्रदर्शन गरिनेछ। साथै, नेपाली सिनेमा, पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि आयोजना गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए। उनले महोत्सवमा नेपाली फिल्महरूको प्रदर्शनसँगै स्थानीय पर्यटन प्रवर्द्धन र कला–संस्कृतिको प्रचारप्रसार गरिने जानकारी दिए। महोत्सव संयोजक निर्देशक कमल एक्चै मगर रहेका छन्।

महोत्सवमा करिब दुई दर्जन फिल्म प्रदर्शन गरिनेछ र ती फिल्मसँग सम्बन्धित व्यक्तिहरूसँग गाउँले दर्शकले प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन्। रसुवामा हाल फिल्म हल नरहेको अवस्थालाई ध्यानमा राख्दै, महोत्सवले फिल्मप्रेमी दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली फिल्म क्षेत्रको प्रवर्द्धनमा पनि टेवा पुर्याउने आयोजकको विश्वास छ। महोत्सवमा करिब ४ हजार दर्शक उपस्थित हुने लक्ष्य राखिएको छ।
यस महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। साथै, गोसाइँकुण्ड गाउँपालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आएको चौथो ‘पालिका कप’ भलिबल प्रतियोगिता पनि वैशाख २ देखि ६ गतेसम्म सञ्चालन हुनेछ। रसुवाको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले विशेष योगदान दिने र जिल्लालाई देश तथा विदेशमा चिनाउन मद्दत पुग्ने आयोजकको दाबी छ।