गत शुक्रबार, चैत २२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन्। दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपूतले, फिल्मको माउथ पब्लिसिटी राम्रो सुनेर हल पुगेका दर्शकहरूले कथासँग भावनात्मक रूपमा जडान भएको प्रतिक्रिया दिँदा आफू खुसी लागेको बताए।
‘मलाई दर्शकको प्रतिक्रिया सुन्दा महसुस हुन्छ कि फिल्म दर्शकसँग जडिन सकेको छ। विषयवस्तु र प्रस्तुति दर्शकले मन पराइरहनु भएको छ,’ प्रकाश भन्छन्, ‘त्यसैले माउथ पब्लिसिटी पनि राम्रो भइरहेको छ।’
दर्शकहरूले फिल्मबारे बाहिर आएको जस्तो राजनीतिक होइन, सामाजिक विषयवस्तु भएको बताएका छन्। ‘वसन्तले राजनीतिक विषय उठाएको भन्ने भ्रम छ, कुनै पार्टीलाई समर्थन गरेको भन्ने धारणा बनाइएको छ,’ एक दर्शकले फिल्म हेरेपछि भने, ‘तर फिल्ममा राजनीतिक विषय छैन। सामाजिक सन्देश बोकेको कथा छ। शंका गर्नुपर्ने कुनै कारण छैन, ढुक्क भएर हेर्न सकिन्छ।’
नेपाली समाजका यथार्थ कथाव्यथा उजागर गर्ने काम ‘वसन्त’ले गरेको भन्दै दर्शकहरूले यसलाई चेतनामूलक र सन्देशमूलक फिल्म भनेका छन्। साथै, सबैले यो फिल्म हेर्नुपर्ने पनि आग्रह गरेका छन्। ‘स्टार्टिङ र इन्डिङ दुवै उत्कृष्ट छ। सोचेभन्दा निकै राम्रो लाग्यो,’ एक दर्शक भन्छन्, ‘अभिनय र निर्देशन दुवै राम्रो छ। यस्ता फिल्म बारम्बार हेर्न पाइयोस्। बाहिर राजनीतिक विवाद भइरहेको छ तर फिल्म त्यस्तो छैन।’
समाजमा घटेका घटनाहरू समेटिएको ‘वसन्त’ राम्रो रहेको भन्दै सबैले हेर्नु पर्नेमा दर्शकहरू एकमत देखिन्छन्। ‘नेपाली समाजको वास्तविक कथा छ, चल्ने खालको फिल्म हो,’ एक दर्शकको प्रतिक्रिया थियो, ‘गाउँको कथा राम्रोसँग उठाइएको छ।’
निर्देशक सपूतले पनि फिल्ममा धेरै विषय समेटिएको र त्यसले फरक–फरक दर्शकलाई फरक तरिकाले छोएको बताए। उनले ‘वसन्त’मार्फत क्रान्ति र आन्दोलनभन्दा समाजको यथार्थ चित्रण गर्न खोजिएको स्पष्ट पारे। उनले समाजमा भएका विभेद र अन्याय पनि देखाइएको बताउँदै, त्यही विषय दर्शकसँग जडान भइरहेको जानकारी दिए।
‘जसरी समाजमा दुःख–सुख हुन्छ, त्यसरी नै फिल्ममा पनि हास्य र भावुकता मिसिएको कथा छ,’ सपूतले भने।
नेपाल र विदेशमा एकसाथ चैत २२ गते रिलिज भएको फिल्म ‘वसन्त’मा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लामगादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायत कलाकारहरूको अभिनय छ।
‘गलबन्दी प्रोडक्सन’को प्रस्तुति रहेको यस सामाजिक कथानक फिल्मको कथा, पटकथा र संगीत निर्देशक सपूतकै छन्। फिल्मले विपन्न विश्वकर्मा समुदायका एक युवकको लेखक बन्ने सपना र त्यसका लागि गरिएको संघर्षको कथा प्रस्तुत गर्छ।
फिल्मका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्। सुसन प्रजापतिले छायांकन गरेको यस फिल्मलाई काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो।