बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउँदै छिन्। जेठ ३ गते (मे १७, २०२५) मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममार्फत नोरा नेपाली दर्शकलाई नचाउन आउँदैछिन्।
वल्र्डवाइड फिल्म्स नेटवर्क प्रा.लि. को आयोजनामा हुने उक्त कार्यक्रम ह्युमन रेस्पेक्ट नेपाल को सहयोगार्थ आयोजना गरिनेछ, जुन संस्था शिक्षाबाट बञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ। कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट मनु मिडिया प्रा.लि. ले हेर्नेछ।
नेपालमा आयोजना हुँदै आएका अन्तर्राष्ट्रिय कलाकारहरूको कार्यक्रममध्ये ‘नोरा फतेही लाइभ इन नेपाल’ अझ उत्कृष्ट हुने दाबी इभेन्ट म्यानेजर मनिष कार्कीले गरेका छन्। नोरासहित २० भन्दा बढी कोरियोग्राफर तथा डान्सरहरू मुम्बईबाट नेपाल आउने कार्यक्रम रहेको छ।
पुर्ण मनोरञ्जन दिने उद्देश्यसहितको कार्यक्रममा नेपाली दर्शक मात्र होइन, सीमावर्ती क्षेत्रबाट भारतीय दर्शकहरू पनि सहभागी हुने आयोजकको विश्वास छ। जहाँ दर्शकहरूले नृत्य र संगीतको भरपुर मजा लिन सक्नेछन्।
फिल्म निर्माण र सामाजिक क्षेत्रमा सक्रिय रहेको आयोजक संस्था वल्र्डवाइड फिल्म्स नेटवर्क प्रा.लि. का अध्यक्ष देव मगरका अनुसार कार्यक्रममा चर्चित नेपाली कलाकारहरूको पनि प्रस्तुति रहनेछ।
आयोजकले टिकट मूल्य रु. २,०००, ४,०००, ७,००० र १६,००० निर्धारण गरेको छ भने आइतबारदेखि खल्ती एप मार्फत टिकट खरिद गर्न सकिनेछ। कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वयकर्ताका रूपमा युद्ध बानियाँ रहनेछन्।
नोरा फतेहीले बलिउडमा दिलबर दिलबर, कुसु कुसु, ओ साकी साकी, नाच मेरी रानी जस्ता सुपरहिट गीतहरूमा काम गरेकी छिन्।