३५ दिनमा सकियो वर्षा-खगेन्द्रको ‘हर्ष’को छायांकन ३५ दिनमा सकियो वर्षा-खगेन्द्रको ‘हर्ष’को छायांकन

अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा रहेको फिल्म ‘हर्ष’को छायांकन सम्पन्न भएको छ। डेब्यु निर्देशक एकता पौडेलले फिल्मको सम्पूर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको जानकारी दिइन्। “४० दिनको सेड्युलमा छायांकन सुरु गरेका थियौं, तर निर्माण टिमको उत्साहजनक कामले तय समयभन्दा ५ दिनअघि नै छायांकन सकियो,” उनले भनिन्।

निर्देशक पौडेलका अनुसार फिल्मको सम्पूर्ण छायांकन चितवनमै गरिएको हो। फिल्ममा ५ गीत समावेश गरिएको छ, र ती सबैको छायांकन पनि ३५ दिनमै सम्पन्न गरिएको उनले बताइन्। हालसम्म फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन। सम्पूर्ण पोस्ट-प्रोडक्सनको काम सकेपछि मात्र मिति घोषणा गरिने तयारी गरिएको छ।

फिल्ममा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन र संगीता नापितको पनि अभिनय रहनेछ।

डेब्यु निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन्। उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन्। आमसञ्चारमा स्नातक गरेकी पौडेलले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर पनि गरेकी छन्। यसका साथै उनले केही छोटा फिल्महरू पनि निर्माण गरेकी छन्।

पारिवारिक सामाजिक कथामा आधारित यस फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। फिल्मलाई आलोक शुक्लाले छायांकन गर्नेछन् भने संगीत वसन्त सापकोटा र एलिश कार्कीको रहनेछ। सम्पादन लोकेश बज्राचार्यले गर्नेछन् भने कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्।

ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) हुन्, भने कार्यकारी निर्माता हिक्मत चोखल (चितवन) रहेका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti