सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सम्पन्न भएको छ। चितवन र हेटौंडाका विभिन्न स्थानमा गरिएको छायांकन ३६ दिनमा सम्पन्न भएको हो।

“हामीले अपेक्षा गरेजस्तै फिल्मको छायांकन गर्न सफल भएका छौँ। कथाले मागेको लोकेसनमा आवश्यकतानुसार छायांकन गरेका छौँ,” निर्देशक पौडेलले भने, “अब पोस्ट–प्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै फिल्म तयार पार्नेछौँ।”

सामाजिक कथावस्तुमा आधारित यो फिल्म सन्देशमूलक मात्र नभई मनोरञ्जनात्मक पनि हुने निर्देशक पौडेलले जानकारी दिए।

‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।

यसअघि नै रिलिज मिति तय गरिसकेको ‘वरिष्ठ बलराम’ आगामी लक्ष्मी पूजाको दिन, कात्तिक ३ गते प्रदर्शनमा आउनेछ। यो सुरेन्द्र पौडेलको चौथो निर्देशकीय फिल्म हो।

फिल्मका निर्माता आशिस एच. तामाङ र श्रीराज कार्की हुन्। पौडेलकै सम्पादन र निर्देशनमा तयार भएको फिल्मको कथा महेश दवाडीले लेखेका हुन्।

मानकृष्ण महर्जन डिओपी रहेका फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा छन्। फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, र प्रदीप लामाको कोरियोग्राफी रहेको छ।

‘वरिष्ठ बलराम’ वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो।

फिल्मलाई काठमाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti