अभिनेता आकाश श्रेष्ठले आफू फिल्मबाट नभइ संचारमाध्यमबाट मात्र टाढा रहेको बताएका छन्।
मंगलबार, निकेश खड्का निर्देशित ‘माया के हो’ बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै आकाशले यस्तो प्रतिक्रिया दिएका हुन्।
आखिर किन संचारमाध्यममा देखिएका थिएनन् त आकाश?
यसको उत्तरमा उनले भने,
“म हराएको होइन, मिडियाको माझमा मात्र नआएको हुँ। २–३ वटा फिल्मको कुरा भइरहेको छ। ती फिल्महरू गत वर्ष फ्लोरमा जानुपर्ने थियो, तर जान सकेनन्। सायद अब छायांकन सुरु हुन्छ होला।”
त्यसैगरी, अहिलेको समयमा स्टारडम वा अनुहारभन्दा विषयवस्तुले बढी महत्व राख्ने बताएका उनले, आफुले राम्रो विषय नपाएकाले फिल्म नगरेको स्पष्टिकरण पनि दिए।
“अहिलेको स्थितिमा हेर्दा स्टारडम वा अरु कुराभन्दा पनि विषयवस्तु नै चल्छ जस्तो लाग्छ। तर यस्ता विषयमा आधारित फिल्महरू निकै कम बन्न थालेका छन्। अहिले राम्रा फिल्महरू बन्न छाडेजस्तो लाग्छ। त्यसैले म हतार गर्न चाहन्नँ। राम्रो विषयवस्तु भएपछि मात्र फिल्म फ्लोरमा जान्छ।”
आफ्ना अघिल्ला फ्लप फिल्महरूमार्फत धेरै कुरा सिकेको भन्दै उनले थपे:
“मैले गल्ती गरेर पनि धेरै कुरा सिकेको छु। पक्कै पनि अब गल्ती नहोस् भनेर सोचेर काम गर्नुपर्छ जस्तो लाग्छ। चाँडै नै मेरा केही प्रोजेक्टहरू फ्लोरमा जानेछन्।”
स्मरणीय छ, पछिल्ला दुई वर्षदेखि आकाश श्रेष्ठको कुनै नयाँ फिल्म सार्वजनिक भएको छैन। कार्यक्रममा उनले यथार्थवादी र सत्य घटनामा आधारित फिल्म गर्न चाहेको इच्छा पनि व्यक्त गरे।