अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरले पहिलोपटक स्क्रिन सेयर गरेको ‘कुस्ती’ ले ३९औँ दिनमा मंगलबार ‘इन्डक्ल्याप’ गरेको हो।
फिल्मको गीत बाहेकको छायांकन सकिएको जानकारी निर्माता तथा निर्देशक अनिल योञ्जनले दिएका छन्।
काठमाडौं आसपासका क्षेत्रमा खिचिएको यो फिल्म आगामी भदौमा रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको छ।
फिल्ममा धीरज र मिरुनासहित पुष्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रविन्द्र झा, पुष्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारहरूको अभिनय छ।
‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चर्चामा आएकी दीकिलाको यो डेब्यु फिल्म हो।
निर्देशक योञ्जनका अनुसार फिल्मले प्रेम सम्बन्धमा रहेका एक जोडीको कथा पेस गर्नेछ।
उनले भने, “उनीहरू एकअर्कालाई माया त गर्छन्, तर आ-आफ्नो स्वभावले गर्दा सँगै रहन कठिनाईको सामना गरिरहेका हुन्छन्। फिल्ममा भावनात्मकतासँगै हास्यरस भरपूर छ।”
फिल्ममा उक्त कथा उनी आफैंले लेखेका हुन्।
यसअघि उनले ‘डायरी’ निर्देशन गरेका थिए।
उमङ्ग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन तथा कल्याण सिंहको संगीत रहेको फिल्ममा शिशिर खातीको नृत्य निर्देशन रहेको छ।
यसमा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन्।
फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट तथा एप्पल इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।





