‘दर्शकको माया र अपेक्षालाई बुझेर ‘कोशेढुंगा’ बाट उत्कृष्ट आउटपुट दिनेछौं’ ‘दर्शकको माया र अपेक्षालाई बुझेर ‘कोशेढुंगा’ बाट उत्कृष्ट आउटपुट दिनेछौं’

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ कस्तो बन्ने हो भन्ने चासो सिनेकर्मीदेखि दर्शकसम्मलाई छ।

दर्शकको अपेक्षा पूरा गर्ने लक्ष्य राखेर ‘कोशेढुंगा’ का कार्यकारी निर्माता दिनेश खड्काले उक्त कुरा बताए। फिल्मको कथा र छायांकनमा भइरहेको मेहनतले दर्शकलाई निराश नपार्नेमा आफू ढुक्क रहेको उनको भनाइ छ।

“अहिले जुन हिसाबले काम भइरहेको छ, त्यसबाट हामीले सोचेभन्दा राम्रो नतिजा आउने आशा छ। अहिलेसम्मको काम हेर्दा आउटपुट पनि राम्रो आउनेमा हामी पक्का छौं,” खड्काले भने, “फिल्मको अनलाइन सम्पादनको काम सेटमै भइरहेको छ, जसमा सबै कलाकार र प्रविधिकहरूको मेहनत देख्दा दर्शकलाई केही विशेष अनुभव हुनेछ भन्ने हामी सेटबाटै भन्न सक्छौं।”

खड्काले स्याङ्जाको स्थानीय तह, वडा र पालिकाबाट पाएको सहयोगले छायांकनलाई सहज र प्रभावकारी बनाएको बताए।

“‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपाली बक्सअफिसमा करिब ४७ करोडको ऐतिहासिक व्यापार गर्दै सरोज पौडेललाई नेपाली सिने क्षेत्रमा नयाँ उचाइमा पुर्याएको छ,” उनले भने, “दर्शकको माया र अपेक्षालाई बुझेर कोशेढुंगामा पनि त्यसअनुसारको मेहनत गरिरहेका छौं। हामी कुनै पनि हालतमा दर्शकलाई निराश बनाउने छैनौं।”

निर्माण घोषणादेखि नै दर्शकमाझ उत्सुकता र अपेक्षा दुवै बढाएको यो फिल्मको छायांकन स्याङ्जाका विभिन्न स्थानमा पछिल्लो एक महिनादेखि भइरहेको छ। च्यासलस्थित सेटमा करिब एक हप्ता छायांकन गरेपछि बाँकी छायांकनका लागि निर्माण टिम स्याङ्जा गएको थियो।

कार्यकारी निर्माता खड्काका अनुसार अबको एक सातामा सम्पूर्ण छायांकन सकिनेछ।

स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा ‘कोशेढुंगा’ को छायांकन भइरहेको छ।

नरदेवी फिल्म्सको प्रस्तुति रहेको फिल्म ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मी लगायतको अभिनय रहनेछ।

फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठले छायांकन गरिरहेका यस फिल्मको सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन्।

यस फिल्मको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहने छ। कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।

निर्माण टोलीले ‘कोशेढुंगा’ लाई वि.सं. २०८२ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। यद्यपि औपचारिक रिलिज मिति भने घोषणा गरिएको छैन।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti