अशोक शर्माको निर्देशनमा निर्माण हुने फिल्म ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।
यसअघि दशैंको फूलपातीमा प्रदर्शन हुने भनिएको यो फिल्म अब भ्यालेनटाइन डेको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने भएको हो।
नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट लेख्दै निर्देशक शर्माले ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, “दशैंमा धेरै फिल्महरू आउने भएपछि सकेसम्म फिल्महरूको संख्यामा मिलाएर ल्याउन निर्माता साथीहरू पनि सुरक्षित होऊन् भन्ने हेतुले सहमति गराउने प्रयास गर्यौँ। तर, कोही पनि एक इञ्च पनि सर्न तयार भएनन्। त्यसैले ‘डबल ट्रिपल’ अब २०८२ सालको फागुन १ गते रिलिज हुनेछ।”
फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल र सुरवीर पण्डितको अभिनय रहनेछ। फिल्मको कथा/पटकथा निर्देशक शर्मा र राजेश सिटौलाले मिलेर लेखेका हुन्।
सिनेमामा शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायांकन, राजु किराँतीको द्वन्द्व निर्देशन तथा सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ। नगेन्द्र घिमिरे फिल्मका निर्माण नियन्त्रक हुन् भने निर्मातामा किरण शर्मा पौड्याल, कीर्ति शर्मा र अंकित शर्मा रहेका छन्।

        

