फिल्म जार ले नेपाली फिल्मलाई नै उचाइ दिने निर्माणपक्षको विश्वास छ। जार प्रदर्शन भएपछि नेपाली फिल्म उद्योग एक खुड्किलो माथि उक्लिने निर्माणपक्षको दाबी छ।
वैशाख २६ गते प्रदर्शन हुने फिल्म विषयवस्तु, प्रस्तुति र प्राविधिक हिसाबले बलियो रहेको निर्देशक फूर्वा छिरिङ लामाले बताए।
“विषयका हिसाबले हामीले अब्बल र नेपाली समाजले भोगेको विषय उठाएका छौं। त्यसैले म यसलाई हरेक समाजको कथा भन्न रुचाउँछु,” निर्देशक लामाले भने, “प्राविधिक पक्ष पनि उत्तिकै बलियो रहनेछ। प्राविधिक पक्ष मजबुत होस् भनेर पोस्ट-प्रोडक्सनका कतिपय काम हामीले भारतमा गरेका छौं।”
प्रस्तुतिमा कलाकारहरूले कठोर मेहनत गरेका उनले बताए। बजारमा को कलाकार कस्तो भन्नेभन्दा पनि कथाले कस्तो पात्र माग्छ भन्ने आधारमा कलाकार छनोट गरिएको निर्देशक लामाको भनाइ छ। फिल्मको कुनै पनि पक्ष कमजोर नहोस् भनेर सुरुबाटै सचेत भएर काम गरिएको उनले बताए।
फेरि टेल पिक्चर्सको निर्माणमा बनेको जार साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म हो। सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई फिल्मले समेट्ने निर्देशक लामा बताउँछन्।
“इन्द्रबहादुर राईको कथामा सिनेम्याटिक लिबर्टी लिएर काम गरेका छौं। त्यसैले कथा जति राम्रो छ, त्योभन्दा फिल्मको भिजुअल ल्याङ्ग्वेज अझ बलियो हुनेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने। यो फिल्म मात्र नभई नेपाली समाजको दस्तावेज पनि भएको उनको भनाइ छ।
साहित्यकार राईले सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित कथा लेखेका थिए।
फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापा लगायत कलाकारको प्रमुख भूमिका छ।
गीताञ्जली थापा लायर्स डाइस बाट भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेत्री हुन्।
होप रिल्स, एलए सेभेन स्टार्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मलाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका छन्।
सिक्किममा छायांकन गरिएको फिल्म जार का कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ। फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ।
फिल्म जार नेपाल, भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ। फिल्म नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज फिल्म्स रहनेछ।