‘ऊनको स्वीटर’ कस्तो छन् एलेक्स र परीक्षा ? ‘ऊनको स्वीटर’ कस्तो छन् एलेक्स र परीक्षा ?

यही वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीतले प्रदर्शनअघि नै दर्शकमाझ सनसनी मच्चाएको छ। छोटा भिडियो प्लेटफर्महरू—टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समा यो गीत यति भाइरल बनेको छ कि हरेक स्वाइपमा यसकै धुन गुञ्जिरहेको अनुभव हुन्छ।

झुमा लिम्बु र सुजन चापागाईंको सशक्त स्वर, झुमाकै सङ्गीत, र युवराज काफ्लेको शब्दले सजिएको यस गीतले लाखौं दर्शकको मन जितेको छ। सार्वजनिक भएको छोटो समयमै गीतको अफिसियल म्युजिक भिडियोलाई युट्युबमा १२ लाखभन्दा बढीपटक हेरिएको छ। त्यस्तै, टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यस गीतमा भिडियो निर्माण गरिसकेका छन्।

गीत सार्वजनिक कार्यक्रममा गायिका लिम्बु र गायक चापागाईंले प्रत्यक्ष प्रस्तुत गरेका यो गीतले विशेष चर्चा बटुल्न सफल भएको थियो। यो गीत नेपाली फिल्म उद्योगमा ट्रेन्डमा रहेका गीतहरूमध्ये एक बनिसकेको छ।

यसैबीच, ‘ऊनको स्वीटर’को निर्माण कम्पनी आर्टमाण्डूले पछिल्लो समय डिजिटल ट्रेन्डलाई आत्मसात् गर्दै कलाकारहरूको पात्र परिचय छोटा भिडियो प्लेटफर्ममार्फत गराएको छ। ट्रेन्डकै रूपमा पहिलो पटक फिल्मका कलाकारहरूको पात्र परिचय टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत सार्वजनिक गरिएको हो।

फिल्ममा प्रमुख पात्र परीक्षा लिम्बु र एलेक्स पारसलाई पहिलोपटक ‘काफ्ले’ गीतमा नाचिरहेको देखाइएको छ। फिल्ममा परीक्षा र एलेक्सले पान्थर नवमीडाँडाका डम्बर काफ्ले र ईक्सा लिम्बुको भूमिका निर्वाह गरेका छन्। यद्यपि, गीतको अफिसियल भिडियोमा भने चर्चित अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिएका छन्।

आर्टमाण्डूले कलाकारहरूको झलक सार्वजनिक गर्दै भनेको छ, “हामीले यो झलकमार्फत ‘ऊनको स्वीटर’का पात्रहरू प्रति तपाईँहरूको जिज्ञासा र प्रेम झनै बढ्ने विश्वास लिएका छौँ। यो न्यानो सिर्जनशीलताको यात्रामा तपाईँहरूको साथको अपेक्षा गरेका छौँ।”

कलाकारहरूको पात्र परिचय गराउन नयाँ शैली अपनाइएको विषयमा ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहानले पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता रहेको बताए। उनले भने, “पात्र परिचयको रूपमा नयाँ प्रयोग गरी सार्वजनिक गरिएका भिडियोहरू छोटो समयमै दसौँ लाख दर्शकले हेर्नुभएको छ र अत्यधिक मन पराउनुभएको छ। हाम्रो नयाँ प्रयास सहजै स्वीकृत भएको छ। हामीले पोस्टरमार्फत पात्र परिचय गराएको भए सायद यति धेरै दर्शकमाझ यति छिटो पुग्ने थिएन होला। पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता हो।”

‘ऊनको स्वीटर’ प्रदर्शनको पूर्वसन्ध्यामा ‘काफ्ले’ गीतले यस फिल्मप्रति दर्शकको उत्साहलाई झनै बढाएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti