२०८२ को फागुनमा ‘पिताम्बर’ टिमले ल्याउने भयो नयाँ फिल्म ? २०८२ को फागुनमा ‘पिताम्बर’ टिमले ल्याउने भयो नयाँ फिल्म ?

हाल हलहरूमा प्रदर्शन भइरहेको, कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ ले आफ्नो बलियो प्राविधिक पक्ष र भिजुअल क्यानभासका लागि विशेष प्रशंसा बटुलिरहेको छ।

यो फिल्म प्राविधिक रूपमा २०८१ सालकै सबैभन्दा उत्कृष्ट व्यावसायिक फिल्मका रूपमा चर्चा पाइरहेको छ।

यसै सन्दर्भमा, फिल्म दोश्रो सातामा चलिरहँदा, वितरक रोहित कट्टेलले निर्देशक तथा सिनेम्याटोग्राफर एवं सहनिर्माता पुरुषोत्तम प्रधानसँगको तस्बिर सार्वजनिक गर्दै २०८२ को फागुनमा यही टिमबाट नयाँ फिल्म आउने संकेत दिएका छन्।

फेसबुकमा कृषा र पुरुषोत्तमसँगको तस्बिर पोस्ट गर्दै रोहितले लेखेका छन्—
‘पिताम्बर दोश्रो हप्तामा सफलताको बाटो लम्कँदै। तपाईंहरू सम्पूर्णको साथका लागि हामी आभारी छौं। २०८२ को फागुनतिर केही नयाँ!’

यो क्याप्सनले नयाँ प्रोजेक्टको संकेत गरेको प्रष्ट बुझिन्छ।

वितरकको उक्त पोस्टले फागुनमा नयाँ फिल्म आउने संकेत दिएको छ। सम्भवत: नयाँ फिल्मभन्दा ‘पिताम्बर’ सिनेमाको प्रिक्वेल आउने सम्भावना बढी देखिन्छ।

‘पिताम्बर’ रिलिजको पूर्वसन्ध्यामा, निर्माण पक्षले अभिनेता सौगात मल्ल र अभिनेत्री सुरक्षा पन्त फिचर गरिएको ‘लास्ट च्वाक छ यार’ बोलको गीत सार्वजनिक गरेको थियो। तर सो गीत फिल्ममा अटाइएको थिएन। यस कुराले पनि ‘पिताम्बर युनिभर्स’ मा आधारित अर्को कथा आउने सम्भावनालाई थप बल दिन्छ।

हाल दोश्रो सातामा चलिरहेको फिल्मले हल, ओभरसिज तथा डिजिटल राइट्समार्फत आफ्नो लगानी सुरक्षित गरिसकेको बताइएको छ।
लगानी सुरक्षित हुनुका साथै फिल्मले सकारात्मक प्रतिक्रिया पाएकाले निर्माण पक्ष नयाँ प्रोजेक्टको तयारीमा लागेको बुझिन्छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti