‘जलाकी’मा जोडिए अभिनेता धिरज मगर ‘जलाकी’मा जोडिए अभिनेता धिरज मगर

अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश भएको छ।

निर्देशक अशोक र धिरजले ‘जलाकी’का लागि दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनीहरूले गत वर्षको हिट फिल्म ‘खुस्मा’मा सहकार्य गरेका थिए।

बागलुङको कालिका मन्दिरबाट छायांकन सुरु गरिएको फिल्मको केही दिनअघि पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ। धिरजले दोस्रो चरणको छायांकन सुरु भएपछि सेट जोइन गर्ने निर्देशक अशोक थापा मगरले बताए।

त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा धिरजसहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको छ। मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेब्यु फिल्म हो।

कसैको सम्झना र मायाको प्रतीकको रूपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतीक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ।

यो फिल्मको छायांकन तीन चरणमा गरिनेछ। रुकुम, म्याग्दी, बागलुङ, पोखराका विभिन्न भूभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यस फिल्मले मगर र गुरुङ समुदायको संस्कृति झल्काउनेछ।

एम मिडिया प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

फिल्ममा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ।

फिल्मको छायांकन शैलेन्द्र डी. काकीले, लाइन प्रोड्युसर राजु रेग्मी मगर, मुख्य सहायक निर्देशक महेश बराल, संगीत एसडी योगी र सरित राई, गीत रचना सुरेन्द्र राना र राम अविरल विष्टले गर्नेछन्। निर्देशक अशोक थापा मगरको डेब्यु निर्देशन रहेको फिल्म ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युट्युबमा पाँच महिनामा दश करोड भ्युज पाउने ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti