वैशाख १९ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘झिल्को’को ट्रेलर सार्वजनिक गरिएको छ। आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा यस फिल्मले प्रस्तुत गर्ने संकेत ट्रेलरमार्फत गरिएको छ।
ट्रेलरको सुरुवात विद्यालयमा अध्ययनरत एक बालिकाले मोबाइल फोन बोकेर विद्यालय आउँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट हुन्छ। त्यसपछि डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोगजस्ता गम्भीर परिणामहरू देखाइएको छ।
ट्रेलरले स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक–सन्तानबीचको दूरी जस्ता समस्यालाई केन्द्रमा राखेको छ।
फिल्मकी प्रमुख कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा प्रभावशाली अभिनय गरेकी छन्। साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको पनि उल्लेखनीय अभिनय देख्न सकिन्छ।
फिल्मका निर्देशक यादवकुमार भट्टराईका अनुसार ‘झिल्को’ एक बालिकाको डिजिटल लतको यात्रामार्फत प्रविधिको असावधानीपूर्ण प्रयोगले निम्त्याउने संकटबारे दर्शकलाई सचेत गराउने प्रयास हो। यसअघि ‘झोला’ जस्तो सामाजिक सन्देशमूलक फिल्म निर्देशन गरिसकेका भट्टराईले बालबालिका, अभिभावक, शिक्षक र नीति निर्माताबीच समन्वयको आवश्यकता देखाउन यो कथा रोजेको बताएका छन्।
मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको यस फिल्मको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। फिल्मको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन्।
‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्। फिल्म जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो।