‘खेल’ को ग्रान्ड प्रिमियर सम्पन्न, कथा वाचनको प्रशंसा ‘खेल’ को ग्रान्ड प्रिमियर सम्पन्न, कथा वाचनको प्रशंसा

यही शुक्रवार रिलिज हुन लागेको नेपाली फिल्म ‘खेल’ को ग्रान्ड प्रिमियर काठमाडौंमा सम्पन्न भएको छ।

बुधवार साँझ छाया सेन्टरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमियरमा फिल्मको टिम, पत्रकार, शुभचिन्तक तथा फिल्मकर्मीहरूको उपस्थिति थियो।प्रिमियरमा ‘खेल’ का प्रमुख कलाकारहरू सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतको उपस्थिति थियो।

प्रिमियरकै लागि भारतबाट निर्देशक अनुराग प्रधान उपस्थित थिए भने अर्की निर्देशक आस्था श्रेष्ठसहित निर्माण टिम पनि सहभागी थियो। निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली फिल्ममा प्रयोग गरेको बताए।

अभिनेत्री सुरक्षा पन्तले युवाहरूले सच्चा मनले बनाएको यो फिल्म सफल हुने विश्वास व्यक्त गरिन्। उनले फिल्मले पाएको प्रतिक्रियाले आफू र ‘खेल’ टिम उत्साहित भएको बताइन्।

मिथिकल सस्पेन्स थ्रिलर शैलीको ‘खेल’ लाई हलिउड फिल्मको स्तरसँग तुलना गर्दै यसको कथा, पटकथा, संवाद, छायाङ्कन, सम्पादन, रङ्ग संयोजन तथा फिल्मको समग्र टोनको प्रशंसा गरिएको छ।

प्रिमियरमा सुरक्षासहित अन्य नयाँ कलाकारहरूको अभिनयको पनि प्रशंसा भयो। साथै, नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानलाई सशक्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया फिल्मले प्राप्त गरेको छ।

मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय रहेको ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन्।

फिल्म सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो। निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन रहेका छन् भने सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन हुन्।

फिल्मको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका हुन्।

फिल्मको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका हुन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन्। ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका हुन्।

प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन्। फिल्मको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको हो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti