‘कोशेढुङ्गा’ले गर्‍यो फर्स्ट लुक्ससँगै प्रदर्शन मितिको घोषणा ‘कोशेढुङ्गा’ले गर्‍यो फर्स्ट लुक्ससँगै प्रदर्शन मितिको घोषणा

‘कोशेढुङ्गा’ फिल्मले फर्स्ट लुक्ससँगै प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण पक्षले बिहीबार फर्स्ट लुक पोस्टर र रिलिजमिति सार्वजनिक गरेको हो ।

घोषणा अनुसार फिल्म भदौ १२ गते रिलिज हुनेछ । फिल्मको पोस्टरमा प्रमुख कलाकार सुरक्षा पन्त फिचर्ड छिन्। सुरक्षालाई ओड्ने ओडेर पछि फर्किएर हेरेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ। उनको लुक्सले उनी नवविवाहितजस्तै देखिन्छ।

उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन्। केही समयअघि छोडेर हिँडिएको जस्तो घर देखिन्छ। आँगनमा देखिएको झारले यो अनुमान गर्न सकिन्छ। तर, घर छोडेको धेरै समय भएको जस्तो लाग्दैन।

घर पहाडमा बस्ने धनी व्यक्तिको जस्तो देखिन्छ। केही समय छोडिएको घरमा पुनः फर्किएर बस्न गएकी हुन् कि भन्ने अनुमान गर्न सकिन्छ।

बादलको घुम्टोमुनि पहाड, पहाडको फेदीमा रहेको घर, र घरको आँगनमा भर्खरै सहरबाट फर्किएकी एक नवविवाहित महिला – यी सबैले उनले गाउँ फर्किएर केही नयाँ काम गर्न खोजेकी हुन् कि भन्ने अनुमान गर्न सकिन्छ।

तर, फिल्मको कथाबारे निर्माण पक्षले केही खुलाएको छैन। “पोस्टरले पक्कै पनि केही कुरा संकेत गरेको छ। यसलाई अहिले यतिमै सीमित गरौँ,” ‘कोशेढुङ्गा’का निर्देशक सरोज पौडेलले भने, “अलिकति बढी कथा हामी आउने अन्य सामग्रीबाट खोल्दै जानेछौँ।”

फिल्म ‘कोशेढुङ्गा’मा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय रहेको छ।

महिलाप्रधान फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्त छिन्।

नरदेवी फिल्म्सको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन्। कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन्।

बाबु श्रेष्ठको डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत रहनेछ। फिल्मका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुङ्गा’ फिल्म प्रतिक्षित बनेको छ। सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ४७ करोड ५० लाखभन्दा बढी ग्रस कलेक्सन गरेको थियो। त्यसैले उनले निर्देशन गरेको यो फिल्म कस्तो हुनेछ भन्ने चासो धेरैमा छ।

यो फिल्म नेपालसँगै विश्व बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti