भारतको प्रतिष्ठित राष्ट्रिय पुरस्कार जितिसकेकी अभिनेत्री हुन् ‘जार’की गीताञ्जली भारतको प्रतिष्ठित राष्ट्रिय पुरस्कार जितिसकेकी अभिनेत्री हुन् ‘जार’की गीताञ्जली

नेपाली कथानक फिल्म ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ।

सामाजिक विषयवस्तुमा आधारित यस फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापा लगायत कलाकारहरू प्रमुख भूमिकामा छन्।

‘जार’मार्फत अभिनेत्री गीताञ्जली थापा नेपाली दर्शकमाझ पहिलोपटक देखिदैछिन्। उनी नेपाली फिल्म उद्योगमा नयाँ अनुहार भए पनि, अभिनयमा सक्षम कलाकारका रूपमा चिनिन्छिन्। ‘जार’ हेर्दा दर्शकले दोहोरिएको अनुहार नभई ताजा प्रतिभाको अभिनय हेर्ने अवसर पाउनेछन्।

यद्यपि गीताञ्जली थापा नेपाली फिल्ममा दोहोरिरहने नाम होइन, उनी उत्कृष्ट कलाकार हुन्। उनले केवल नेपालमै होइन, बलिउडमा समेत आफूलाई प्रमाणित गरिसकेकी छिन्।

गीताञ्जली राष्ट्रिय पुरस्कार विजेता हुन्। उनले फिल्म लायर्स डायस बाट भारतीय राष्ट्रिय फिल्म पुरस्कार जितेकी हुन्।

यत्ति मात्र होइन, उनी नेटफ्लिक्स प्रयोगकर्ताबीच पनि परिचित अनुहार हुन्। लोकप्रिय सिरिज सेक्रेड गेम्स मा पनि उनले अभिनय गरेकी थिइन्।

उनका फिल्महरूले नेपाल र भारतमा मात्र होइन, विश्वभर फन्को मारीसकेका छन्। विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा उनका फिल्महरूको प्रदर्शन भइसकेको छ। विश्व सिनेमाका दर्शकले गीताञ्जलीको अभिनय अवलोकन गरिसकेका छन्।

उनको अभिनय रहेको फिल्महरू टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कजस्ता चर्चित फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन्। त्यसैले, निर्माण पक्षको भनाइ अनुसार, उनको अभिनयले जार फिल्मलाई थप उचाइ दिएको छ।

नयाँ र ताजा अनुहारबाट कथा भन्नाले दर्शकलाई कथा बुझ्न सजिलो हुन्छ र फिल्म विश्वसनीय पनि हुन्छ। गीताञ्जलीमार्फत ‘जार’ ले यस्तै सुविधा पाएको निर्माण पक्ष बताउँछ।

‘जार’ सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित फिल्म हो। यो फिल्म प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ।

इन्द्रबहादुर राईले सन् १८०० को दशकका सामाजिक पक्षहरू आफ्नो कथा मार्फत प्रस्तुत गरेका थिए।

फिल्म जार लाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन्। यसले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानवीय भावना बीचको जटिलता देखाउने प्रयास गर्छ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको यो फिल्म सामाजिक विषयमा आधारित भए पनि “कम्प्लीट प्याकेज” भएको निर्देशक लामाको दाबी छ।

होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो, र किवा प्रोडक्सन को सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको हो।

फिल्मका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। सरवानन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन, र झुमा लिम्बू तथा गंगा थापाको संगीत रहेको फिल्म ‘जार’ नेपाल, भारत तथा अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा ल्याइने निर्माण टिमले जनाएको छ।

नेपालमा यसको वितरण जिम्मा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीहरूले लिएका छन्।

सिक्किममा सम्पन्न ग्रान्ड वर्ल्ड प्रिमियरमा फिल्म हेरेका दर्शकहरूले उत्कृष्ट प्रतिक्रिया दिएका छन्।

फिल्म हेर्दा दर्शक आफ्नो समाजको इतिहाससँग केही घण्टा साक्षी बन्न पाउँदा कोही भावुक त कोही उत्साहित देखिएका थिए। कलाकार, निर्देशन, सिनेमाटोग्राफी, पृष्ठभूमि संगीत र भिएफएक्सको सबैले प्रशंसा गरे।

निर्देशक साम्तेन भुटियाले भने, “फिल्मले इन्द्रबहादुर राईको कथालाई पूर्ण न्याय दिएको छ। नेपाली मौलिकता बोकेको यो फिल्म अभिनय, निर्देशन र प्राविधिक पक्षमा अत्यन्त अब्बल छ। धेरै फिल्ममा निर्देशकलाई दृश्यमा भेट्न मुस्किल पर्छ, तर यस फिल्ममा निर्देशकको उपस्थिति दृश्य-दृश्यमा अनुभूत हुन्छ। यो नै राम्रो फिल्मको बलियो पक्ष हो। संवादबिना लामो दृश्यहरूमा पनि निर्देशकले दर्शकलाई होल्ड गर्न सफल भएका छन्—यो सृजनशीलता नेपाली फिल्मले कमै भेटेको पक्ष हो।”

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti