नेपाली चलचित्र अञ्जिला ले प्रदर्शनको ५१ औँ दिनमा भव्य सफलता हासिल गरेको छ। गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले देशभरका ४५ स्क्रिनमार्फत १० करोड रुपैयाँभन्दा बढीको ग्रस आम्दानी गर्दै नेपाली बायोपिक विधामा ऐतिहासिक कीर्तिमान कायम गरेको निर्देशक मिलन चाम्सले जानकारी दिएका छन्।
“हामी सफलताका साथ ५१ औँ दिनमा प्रवेश गरेका छौं। अञ्जिला नेपाली चलचित्र इतिहासमा १० करोडभन्दा बढी व्यापार गर्ने र ५१ दिनसम्म चल्ने पहिलो बायोपिक चलचित्र बनेको छ,” निर्देशक चाम्सले भने।
चलचित्र युनिटले यो उपलब्धिको अवसरमा शुक्रबार विशेष समारोहको आयोजना गरेको थियो। निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको माया र साथले यो सफलता सम्भव भएको बताए। “हामी सबै मिलेर यो सफलता सेलिब्रेट गर्न उत्साहित छौं,” श्रेष्ठले भने।
अञ्जिला नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो, जहाँ एन्जिलाले नै मुख्य भूमिका निर्वाह गरेकी छन्। चलचित्रमा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ।
वर्ष २०८१ को अन्त्यतिर रिलिज भए पनि अञ्जिला ले अघिल्लो वर्षका उत्कृष्ट पाँच चलचित्रमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो।