असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म “यो मन त मेरो नेपाली हो” को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक खैजडी गीत “हेर लौ नेपाल आमाको” मा नेपालको इतिहासदेखि वर्तमानसम्मको वर्णन गरिएको छ ।
अनिश अधिकारीको स्वर र शब्द संकलनमा तयार भएको यस गीतमा फिल्मका मुख्य कलाकारहरू रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, बिजिता बर्देवा, देवराज राजबंशी र अनिश अधिकारी फिचर गरिएका छन् । यसअघि सार्वजनिक भएको गीत ‘तिम्रो आँखै रसिलो’ लाई दर्शक र श्रोताले मन पराएका छन् । गीतमा कोरियोग्राफी प्रमोद भण्डारीको रहेको छ ।
फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुति र मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यो फिल्मले विदेशमा रहेका नेपालीहरूको मुद्दालाई उठान गर्ने प्रयास गरेको छ । “यो मन त मेरो नेपाली हो” ले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व, र नेपाली भाषाको गौरवसँगै ‘नेपाली को हुन्’ भन्ने विषयवस्तु उठान गर्न खोजेको छ ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको यस फिल्मले विश्वका विभिन्न देशहरूमा बसोबास गरिरहेका नेपालीहरूले आफ्नो कला, संस्कार र संस्कृति बिर्सँदै गएको अवस्थामा फिल्मको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको VFX, र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मलाई आरआर फिल्म्स प्रा.लि.ले वितरण गर्नेछ ।