दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा घर र डेराबीचको अन्तर प्रस्ट देखाइएको छ । घर मोहले निम्त्याएको समस्या, र घरलाई सबैथोक तथा प्रतिष्ठाको प्रतीक ठान्ने वर्तमान सोचलाई प्रस्तुत गरिएको छ ।
घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष तथा त्यसबाट उत्पन्न नकारात्मक पक्षहरू ट्रेलरमा देखाइएको छ । घर मोहकै कारण आर्थिक कारोबार र पारिवारिक सम्बन्ध बिग्रिएको पक्ष निर्देशकले स्पष्ट रूपमा चित्रण गरेका छन् ।
पशुपतिप्रसाद, आमा, चिसो मान्छे जस्ता सफल सामाजिक फिल्म निर्देशन गरेका खनालको नयाँ फिल्म ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
फिल्मले घर र डेराबीचको फरक बसाइ र त्यसले जीवनमा पार्ने प्रभावबारे कथा भन्नेछ ।
घर र डेराको कारणले उत्पन्न उचनीच व्यवहार र अन्ततः त्यसको जीवनको अन्त्यतिर पर्ने प्रभावबारे पनि फिल्मले कथा भन्ने निर्देशक खनालले बताएका छन् ।
‘के घर के डेरा : घर नं २’ को कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । यो उनको पहिलो फिल्म हो ।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुति हो ।
फिल्मको छायांकन कृष्णबहादुर थापाले गरेका छन् । निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।