गत वर्ष रिलिजमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङ नयाँ फिल्म निर्माणको तयारीमा लागेका छन्।
यस पटक, मल्टिस्टारर कलाकारहरू लिएर एक्सन फिल्म बनाउने योजना उनको छ। यसका लागि कलाकारहरू फाइनल गर्ने काम तीव्र रूपमा चलिरहेको छ।
यसैबीच, यो फिल्ममा नायिका पूजा शर्मा फाइनल भएकी छन्। निर्देशक रुपेशले पूजालाई उनको जन्मदिनकै दिन अनुबन्ध गरेका हुन्।
फिल्ममा पूजा फाइनल भएपछि रुपेशले भने, “मेरो कथाले पूजा शर्मालाई नै खोजेको हुनाले उहाँलाई साइन गरेका हौं। यस पटक अघिल्ला फिल्ममा भएका कमजोरीलाई सुधार्दै काम गर्ने प्रयास गर्नेछु।”
नायिका शर्माले पनि फेरि एक पटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुशी व्यक्त गरिन्।
उनले भनिन्, “दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो। त्यसैले मलाई फेरि एक्सन फिल्ममा काम गर्न मन थियो। रुपेशजी राम्रो कथा लिएर आउनु भएपछि म साइन गर्न तयार भएँ।”
निर्देशक रुपेशका अनुसार, यस पटक फिल्मका कलाकारहरू सरप्राइज हुनेछन्। फिल्मको नाम अझै तय भएको छैन। केही दिनभित्रै नाम विकास बोर्डमा दर्ता गरी सार्वजनिक गरिने उनले बताए।
फिल्मलाई सुमन गजमेरले लेखिरहेका छन्। केही महिनापछि फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माण पक्षको रहेको छ।