यस्तो बन्यो ‘महाभोज’को निश्चल बस्नेतले गाएको ‘लालुमै’ गीत सार्वजनिक यस्तो बन्यो ‘महाभोज’को निश्चल बस्नेतले गाएको ‘लालुमै’ गीत सार्वजनिक

आगामी जेठ १५ गते रिलिज हुने नेपाली फिल्म ‘महाभोज’को प्रतीक्षित गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ। आइतबार आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो, जहाँ फिल्म युनिटका सदस्यहरू र पत्रकारहरूको बाक्लो उपस्थिति थियो।

चर्चित निर्देशक तथा अभिनेता निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘लालुमै’ गीतमा हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको संगीत, पुष्कर खत्रीको एरेन्ज तथा केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन रहेको छ।

भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ।

कोरियोग्राफर सुनिल क्षेत्रीले गीतलाई रमाइलो र आकर्षक शैलीमा सजाएका छन्। गीतमा मोडल कमल सिंहले मलिका महतसँग बिहे गर्दै गरेको भूमिकामा विशेष उपस्थिति जनाएका छन्।

गीतको भिडियो मलिकाको बिहे समारोहको परिवेशमा आधारित छ, जहाँ परिवार, साथीभाइ र गाउँलेको रमाइलो माहोल झल्किएको छ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले ‘महाभोज’ले नेपाली समाजमा विद्यमान वर्ग संघर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने बताएका छन्। कार्यक्रममा उपस्थित कलाकारहरूले फिल्म तथा गीत छायांकनका अनुभवहरू प्रस्तुत गरे। विशेषगरी दयाहाङ र खगेन्द्रले आफूहरू नृत्यकार नभए पनि ‘महाभोज’का गीतहरूमा नृत्य गरेको बताएका छन्।

यस गीतमा स्वर दिएका तथा नृत्य गरेका निश्चल बस्नेतले निर्देशक दिनेश राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए। सन् २०१२ मा एकै वर्ष फिल्म निर्देशनको सुरुआत गरेका निश्चल र दिनेशले यसअघि सन् २०१७ मा दिनेश निर्देशित फिल्म ‘पर्व’मा सहकार्य गरेका थिए। उक्त फिल्मको चर्चित गीत ‘काले दाइ’मा निश्चलले स्वर दिएका थिए भने नृत्यसमेत गरेका थिए।

फिल्म ‘महाभोज’ क्लक वर्क क्रिएशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो। ‘महाभोज’ एकै दिन नेपालसहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ। फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti