२५ वर्षमा बल्ल चित्त बुझ्यो झुमाको २५ वर्षमा बल्ल चित्त बुझ्यो झुमाको

गायिका तथा संगीतकार झुमा लिम्बूले फिल्म जार मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन्।

साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको अनुभव सुनाउँदै उनले भनिन्, “म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठ्याक्कै मैले चाहेजस्तो काम गर्न पाएको प्लेटफर्म हो—फिल्म जार। मैले गरिरहेको खालको म्युजिक गर्नुपर्छ भन्दै मान्छे आएपछि मैले ‘नाइँ’ भन्ने कुरै आएन। त्यसैले जार मा काम गरेँ।”

सांगीतिक यात्राको २५ वर्षपछि भनेजस्तो काम गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै उनले भनिन्, “२५ वर्षमा आइसकेपछि जार मा गरेको काम चित्त बुझ्दो लाग्यो। पूरै त चित्त बुझेन तर अलिअलि त बुझ्यो नै। जार मा अलिअलि भए पनि काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ।”

फिल्म जार का पात्रहरू लिम्बू गाउँमा पुगेपछि आफूले लिम्बू समुदायको संगीतमा काम गर्न पाएको उनले बताइन्।

प्रिमियरमा फिल्म जार हेर्ने अधिकांश दर्शकले यसको गीत र संगीतको खुलेर प्रशंसा गरेका छन्। लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला र त्यहाँको संस्कृति, संस्कार, लय र तालमा झुमाले यसका गीत र संगीत तयार पारेकी हुन्, जसको प्रशंसा दर्शकहरूले खुलेर गरेका हुन्।

जार मा पात्रहरूको यात्रासँगै गीतहरू प्रस्तुत छन्, जसलाई झुमाले तयार पार्नुका साथै गाएकी पनि हुन्।

१८०० को दशकको वास्तविक घटनामा आधारित यो फिल्म यही शुक्रबार (वैशाख २६ गते)देखि देशभर प्रदर्शनमा आउँदैछ।

जार २२५ वर्षअगाडिको कथामा आधारित ऐतिहासिक फिल्म हो, जुन साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित छ। फिल्मको निर्देशन फुर्वा छिरिङ लामाले गरेका हुन्।

फेरि टेल पिक्चर्सले निर्माण गरेको जार सामाजिक विषयमा आधारित भए पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ। त्यसैले उनले जार ले दर्शकको मन जित्नेमा आफू ढुक्क भएको बताएका छन्।

फिल्म जार मा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको हो।

जार का कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

सरवनन इलावार्सुको छायांकन र अखिलेश राईको सम्पादन रहेको फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत छ।

फिल्म जार नेपाल, भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा ल्याइने निर्माण टिमले जनाएको छ। नेपालभित्र यसलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti