अभिनेता राजेश हमालका कारण चर्चामा रहेको फिल्म ‘नरसिंहा अवतार’ को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलरले देशमा भइरहेका शोषण, अन्याय र अत्याचारलाई आफ्नो विषय बनाएको बुझ्न सकिन्छ।
८ वर्षपछि ठूलो पर्दामा देखिन लागेका राजेश हमाललाई ट्रेलरमा प्रमुखताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरमा उनलाई विभिन्न कालखण्डमा विभिन्न गेटअपमा देख्न सकिन्छ।
ट्रेलरले हमालको आइकोनिक ‘हे!’ संवादलाई पनि समावेश गरेको छ भने ट्रेलरको अन्त्यमा हमालले खेलेका फिल्महरूको नाम समेटेर बनाइएको संवाद प्रस्तुत गरिएको छ। उक्त संवादमा करिब दर्जन फिल्महरूको नाम समेटिएको छ।
ट्रेलरले यो फिल्म हमालका हाडकोर फ्यानहरूलाई समर्पित गरिएको संकेत दिन्छ। हमालका अलावा फिल्ममा राज कटुवाललाई पनि प्रमुखताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरले उनलाई दमदार एक्सन अवतारमा देख्न सकिने सङ्केत दिएको छ।
हमाल र कटुवालका अलावा ट्रेलरमा नीति शाह, निर शाह, सरोज खनाल, उषा खड्की, प्रशान्त ताम्राकार आदिको पनि महत्वपूर्ण भूमिका देखिन्छ।
क्रिएटिभ सिने आर्टको ब्यानरमा निर्मित यो फिल्मका निर्देशक दिवाकर भट्टराई हुन्। दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने निर्माता रहेको ‘नरसिंहा अवतार’ जेठ ९ गते रिलिज हुँदैछ।