‘ऊनको स्वीटर’को ‘चाइनेजो जिन्दगानीमा’ गीत सार्वजनिक ‘ऊनको स्वीटर’को ‘चाइनेजो जिन्दगानीमा’ गीत सार्वजनिक

हाल आक्रामक व्यापारमा रहेको नेपाली फिल्म ऊनको स्वीटरको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक गरिएको यस गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ।

फिल्मका निर्देशक नवीन चौहानले गीतको रिलिज दर्शकको मागअनुसार गरिएको जानकारी दिएका छन्। उनका अनुसार, फिल्मका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ दिनका लागि यो गीत पहिले नै सार्वजनिक नगरिएको हो। साथै, यो गीत दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको आर्टमाण्डूले जनाएको छ।

गीत सार्वजनिक गर्दै आर्टमाण्डूले भनेको छ, “चाइनेजो जिन्दगानीमा गीतमार्फत हामी आर्टमाण्डूको नेपाली फिल्मको स्वर्ण युगप्रतिको हार्दिक श्रद्धा अनि सम्मान व्यक्त गर्न चाहन्छौँ, जसले नेपाली फिल्मलाई आजको स्थानसम्म ल्याउन आधार तयार गरेका थिए। सुजन चापागाईँद्वारा सङ्गीत एवम् स्वरबद्ध यो गीत सम्माननीय दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको छ, जसले त्यो युगको नोस्टाल्जिया र रोमान्सलाई समेट्छ।”

गीतमा सुजन चापागाईँ र सलिना बिकको स्वर रहेको छ भने सङ्गीत पनि चापागाईँले नै तयार पारेका हुन्। हर्क साउदको शब्द रचना रहेको गीतको कोरियोग्राफी रोशन बिकले गरेका छन्। गीतको एरेन्ज कुशल सिंह र विकेश बज्रले मिलेर गरेका हुन्।

शुक्रवारबाट प्रदर्शनमा आएको ऊनको स्वीटरले हलमा उल्लेखनीय व्यापार गरिरहेको छ। आइतबार तेस्रो दिनसम्म आइपुग्दा पनि दर्शकको उत्साह घटेको छैन। सोमवार सार्वजनिक बिदा भएकाले व्यापार अझ तीव्र हुने अपेक्षा गरिएको छ।

विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, र सुनिल पोखरेल अभिनीत फिल्म ऊनको स्वीटरका ट्रेलर, टिजर र गीतहरूले दर्शकको आकर्षण खिचिरहेका छन्। पहिलो दिनदेखि नै देखिएको दर्शकको उल्लेखनीय उपस्थिति फिल्मको सफल यात्रातर्फको सङ्केत गरिसकेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti