जनै हराएको बाहुन : सम्बन्धका धागाहरू फिल्मको छायांकन सम्पन्न भएको छ। निर्माण पक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो।
इन्डक्ल्याप पार्टीमा निर्माण पक्षले फिल्मको सम्पूर्ण छायांकन ३५ दिनमै सम्पन्न भएको जानकारी दिएको थियो।
निर्माण पक्षका अनुसार फिल्मको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो। “फिल्म अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको छ,” निर्देशक हिमाल न्यौपानेले भने, “अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर दर्शकलाई राम्रो फिल्म दिनेछौँ।”
फिल्मको निर्देशन हिमाल न्यौपानेले गरेका हुन्। यो निर्देशक न्यौपानेको डेब्यु निर्देशन हो।
जनै हराएको बाहुन : सम्बन्धका धागाहरू ले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थितिहरू र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ। फिल्मले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ।
फिल्मको एसोसिएट निर्देशकमा प्रेमगीत ३ का अभिनेता मनिष राउत छन्।
बलियो लाइनअप देखिएको फिल्ममा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायतको मुख्य भूमिका छ। यस्तै, फिल्ममा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ।
इन्डक्ल्याप कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले भने, “केकीसँग पनि काम गरियो, मिरुनासँग पनि काम गरियो। अझै धेरै ‘भयङ्कर मान्छे’सँग काम गर्ने मौका मिल्यो। म सामान्य मान्छे, त्यसैले त्यही पात्र परेँ। यो फिल्ममा बुबा–छोराको मात्र होइन, धेरै सम्बन्धको कथा छ। यसले दर्शकको मन छोला भन्ने विश्वास छ।”
एसोसिएट निर्देशक राउतले जीवनको भोगाइ र सम्बन्धको कथा, फिल्मका ती पात्रहरूले बोलेका संवाद र लडेका सङ्घर्षहरू जनैको डोरीझैं बुन्ने प्रयास गरिएको बताए।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन्।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी. सहायक निर्देशक रहेका छन्।
फिल्ममा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहनेछ।
नवीन गुरुङ डिओपी रहेको फिल्ममा कृष्ण परियारको सिनेमाटोग्राफी रहेको छ।
यस फिल्मलाई तीजको अवसर पारेर भदौमा प्रदर्शन गर्ने योजना भए पनि मिति अझै तय गरिएको छैन।