निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’ को छायांकन २८ दिनमा सकिएको छ।
निर्देशक बस्नेतका अनुसार अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा छायांकन सम्पन्न भएको हो। अष्ट्रेलियापछि दोस्रो सेड्युलका रूपमा कास्कीको धम्पुसबाट छायांकन सुरु गरिएको थियो।
छायांकन सम्पन्न भएपछि निर्देशक बस्नेतले कथाले मागेअनुसार नै अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको बताए।
“मैले कथा अनुसार नै ‘पीआर’ को छायांकन सकेको हुँ,” उनले भने, “कलाकारहरूले अत्यन्त राम्रो काम गर्नुभयो। त्यसैले यो सिनेमा निकै राम्रो बनेको छ भन्नेमा म ढुक्क छु।”
छायांकन सकिएपछि उत्साहित देखिएका निर्देशक बस्नेतले दर्शकले यस सिनेमालाई माया गर्नेमा आफू विश्वस्त रहेको दाबी गरे।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिनेमाले विदेशमा रहेका नेपालीहरूले पिआर पाउने संघर्ष र नेपालमा रहेका अभिभावकले आफ्ना सन्तानप्रति राख्ने आशा र भरोसालाई प्रस्तुत गर्नेछ। तर विदेशमा ती सन्तानहरूले भोग्नुपरेको कठिनाइलाई समेत यस सिनेमाले उजागर गर्नेछ।
रञ्जित शाह, आर एफ एम फेसिलिटी म्यानेजमेन्ट र लेन वे डम्प्लिङको प्रस्तुतिमा बनेको यस सिनेमामा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर. ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ।
सिनेमामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल, इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा र रञ्जित शाहले लगानी गरेका छन्।
सिनेमामा मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा तथा संवाद रहेको छ।
त्यसैगरी सिनेमाको छायांकन सौरभ मानन्धर (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल) ले गरेका हुन् भने बन्दे प्रसादले सम्पादन गरेका छन्।
मुख्य सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ रहेका छन्। निर्माण व्यवस्थापकको रूपमा केवलमानसिंह बस्नेत छन्।