दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। केन्द्रीय फिल्म जाँच पास समिति (सेन्सर बोर्ड) ले यस फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो।
युनिभर्सल सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्ने भएका छन्।
सेन्सर बोर्डमा फिल्म प्रदर्शन गरिएको बेला अधिकांश सदस्यहरू भावुक बनेका देखिएका थिए। फिल्मका केही मार्मिक दृश्यहरूले मन छोएको प्रतिक्रिया दिंदै उनीहरूले धेरै समयपछि मौलिक र गहिरो नेपाली फिल्म हेर्न पाएको अनुभव सुनाए। केही सदस्यका आँखामा आँसु पनि देखिएको थियो।
“धेरै समयपछि मौलिक भावनाले भरिएको नेपाली फिल्म हेर्न पाइयो। केही दृश्यहरू यस्ता थिए, जसले मन छोयो। आँसु रोक्न सकिएन,” सेन्सर बोर्डका एक सदस्यले भने।
‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि रिलिज हुँदैछ। फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्। फिल्मले घर र डेराको कथा भन्नेछ।
फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।
कृष्णबहादुर थापाले फिल्मको छायांकन गरेका हुन्। ‘के घर के डेरा : घर नं २’ का कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।