‘के घर के डेरा : घर नं २’बारे खगेन्द्र : कथाको उठान र बैठानमा समस्या छैन ‘के घर के डेरा : घर नं २’बारे खगेन्द्र : कथाको उठान र बैठानमा समस्या छैन

अभिनेता खगेन्द्र लामिछानेले ‘के घर के डेरा : घर नं २’ मा धेरैजना स्टार कलाकार रहेको भए पनि कथाको उठान र बैठानमा कुनै समस्या नरहेको बताएका छन्।

फिल्ममा धेरै पात्रको कथा रहेको तर त्यसको प्रस्तुतिमा सरलता र कौशलता देखिएको उनको दाबी छ। उनी आफैँ पनि सबै पात्रहरूको सहज ल्यान्डिङ देखेर छक्क परेको बताउँछन्।

“म आफैँ पनि लेख्ने भएकाले धेरै पात्र हुँदा कसरी हरेक पात्रलाई सहज ल्यान्डिङ गर्ने भन्नेमा अलमलमा पर्छु। तर, यो फिल्ममा त्यस्तो छैन,” उनले भने, “लेखकले लेख्दा पनि धेरै काम भएको छ। निर्देशकले पनि निकै मेहनत गरेको देखिन्छ, जसका कारण हरेक पात्रको सहज ल्यान्डिङ भएको छ।”

उनले यो फिल्ममा अचानक काम गरेको बताएका छन्। फिल्म ‘विमान’को काममा व्यस्त रहेका बेला निर्देशक दीपेन्द्र के खनालले “यो क्यारेक्टरमा तपाईंबाहेक अरू कोही हुँदैन” भनेपछि आफू आबद्ध भएको बताएका छन्। अरू निर्देशकले बोलाएको भए, सायद नगर्ने उनको भनाइ छ। दीपेन्द्रसँग छुट्टै खालको बन्डिङ रहेको उनले उल्लेख गरे।

“दिउँसो ‘के घर के डेरा : घर नं २’ मा काम गरेर राति–राति ‘विमान’को काम गर्थें,” उनले स्मरण गरे।

क्यारेक्टरका लागि तयारी गर्ने पर्याप्त समय नपाएकाले आफूले आफ्नो चरित्र निर्माणको सम्पूर्ण जिम्मा निर्देशकलाई सुम्पिएको उनले बताए।

“म ‘विमान’को कामको प्रेसरमा थिएँ। त्यसैले क्यारेक्टरमा लामो समय दिन सकिन,” उनले भने, “मैले यो कुरा निर्देशकलाई भनेको थिएँ। उहाँले जसरी काम गराउनु भयो, मैले त्यसैगरी निर्देशक–अभिनेता भएर काम गरेँ।”

‘दिमाग खराब’मा पनि आफूले यस्तै शैलीमा काम गरेको उनले स्मरण गरे। त्यसैले ती दुई फिल्ममा आफूले गरेको कामको श्रेय निर्देशकलाई जाने बताउँछन्।

‘के घर के डेरा : घर नं २’ मा घरभेटी, डेरावाल तथा घर र डेरा नभएका मानिसहरूको कथा रहेको उनले स्पष्ट पारे। यही नै फिल्मको सुन्दर पक्ष भएको उनले उल्लेख गरे।

त्यसैले यो फिल्म सबैको मन छुने विश्वास उनले व्यक्त गरे। उनले गाउँबाट सहर आएर संघर्ष गर्ने मानिसहरूको कथा भएकाले यसलाई मौलिक फिल्म भन्न रुचाउने बताए।

‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदैछ। फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्।

फिल्ममा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय छ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।

कृष्णबहादुर थापाले छायांकन गरेको यस फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन्। निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti