वर्ष दिनपछि केकी – पहिलोपटक यति राम्रो फिल्ममा काम गर्ने मौका मिल्यो वर्ष दिनपछि केकी – पहिलोपटक यति राम्रो फिल्ममा काम गर्ने मौका मिल्यो

अभिनेत्री केकी अधिकारी एक वर्षपछि पर्दामा देखिने भएकी छन्। ‘के घर के डेरा : घर नं २’ मार्फत उनी एक वर्षपछि सेतो पर्दामा देखिने भएकी हुन्।

केकी ‘बोक्सीको घर’पछि हालसम्म कुनै पनि फिल्ममा देखिएकी छैनन्। ‘बोक्सीको घर’मा मुख्य भूमिकामा अभिनय सँगै उनी निर्मात्री पनि थिइन्।

एउटै व्यक्तिले धेरै काम लिँदा त्यसको तनाव र दौडधुपले केही समय ब्रेक लिएको उनले बताएकी छन्। एक वर्षपछि आफूले चाहेजस्तै काम गर्न पाएको केकीले बताइन्।

‘के घर के डेरा : घर नं २’ लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका छन्। केकी यो फिल्मको मुख्य भूमिकामध्ये एकमा छिन्।

केकी र दीपेन्द्रको यो पहिलो सहकार्य हो। केकी अभिनेत्रीका रूपमा र दीपेन्द्र निर्देशकका रूपमा स्थापित भए पनि यी दुईले हालसम्म कुनै पनि फिल्ममा सहकार्य गरेका थिएनन्।

“उहाँ (दीपेन्द्र के. खनाल) आफैँमा अब्बल कथावाचक हो। तर, उहाँसँग काम गर्ने अवसर मिलेको थिएन,” केकीले भनिन्, “पहिलोपटक यति राम्रो फिल्ममा काम गर्ने मौका मिल्यो।”

केकीले मौलिक र आम नेपालीको कथामा फिल्म ‘के घर के डेरा : घर नं २’ बनेको बताइन्। घर हुने र बनाउन चाहनेहरूको कथा फिल्ममा रहेको उनको भनाइ छ।

गाउँबाट काठमाडौं आएर संघर्ष गर्नेहरूको कथा फिल्ममा रहेको उनको भनाइ छ। काठमाडौंका कथालाई मौलिक होइनन् भन्ने बुझाइ पनि कतिपय अवस्थामा रहेको उनले बताएकी छन्।

“अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो। नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,” उनले भनिन्, “अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ। गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन्।”

‘के घर के डेरा : घर नं २’को सबैभन्दा बलियो पक्ष यसको स्क्रिप्ट र निर्देशन रहेको उनको भनाइ छ। कथा, निर्देशन, अनुभवी कलाकार र कामप्रतिको डेडिकेसनले फिल्म राम्रो बनेको उनको विश्वास छ।

फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो स्क्रिप्ट हो।

फिल्ममा केकीसँगै खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ। ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदैछ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ।

‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti