ट्रेलरले बढायो विदेशमा ‘नरसिंहाः अवतार’को डिमान्ड, बिक्री भयो अष्ट्रेलिया अधिकार ट्रेलरले बढायो विदेशमा ‘नरसिंहाः अवतार’को डिमान्ड, बिक्री भयो अष्ट्रेलिया अधिकार

जेठ ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको छ।
फिल्मको ट्रेलरले हाइप बनाएसँगै नेपाली बजारमा त यसको प्रतिक्षा छ नै, विदेशी बजारमा पनि यसको माग चुलिएको छ।

फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईले विदेशबाट फिल्मको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको जानकारी दिएका छन्।

यसैबीच, नेपाली फिल्मका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा यस फिल्मको रिलिज अधिकार बिक्री भएको छ।
फिल्मको अष्ट्रेलिया बिक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो। फिल्म कति रकममा खरिद गरिएको हो भन्ने विषयमा निर्माण पक्षले खुलाएको छैन।

बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन् –

“महानायक राजेश हमालको क्रेज र फिल्मको चर्चा अष्ट्रेलियामा खुबै छ। यसैले, दर्शकहरूको मागलाई ध्यानमा राखेर हामीले यो फिल्मको अष्ट्रेलिया अधिकार खरिद गरेका हौं। आशा छ, फिल्मले अष्ट्रेलियाका दर्शकहरूको मन जित्नेछ।”

वर्षा ‘भ्वाइस अफ नेपाल’मा सहभागी भइसकेकी गायिका समेत हुन्।

वर्षाले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा पनि फिल्म रिलिज हुने बताइन्।

नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजीव जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti