नेपाल र भारतमा गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘जार’ले मध्यपूर्वका देशहरूमा (मे १५) बिहीबारबाट एकसाथ प्रदर्शन सुरु गरेको छ। निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारदेखि फिल्मको प्रदर्शनी शुभारम्भ भएको जानकारी दिएको छ।
निर्देशक फुर्वा छिरिङ लामाले युएईका सहरहरू दुबई, अबुधाबी, अज्मान र सारजाहका स्थानीय हलहरूमा फिल्म प्रदर्शनमा आएको बताए। यस्तै, कतारको दोहा, बहराइनको मनामा लगायतका सहरहरूमा ‘जार’ एकसाथ प्रदर्शनीमा आएको हो।
शुक्रवारदेखि यो फिल्म युएसए, युके, अष्ट्रेलिया, क्यानडा, साउथ अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा पनि प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिए। नेपाल र भारतमा हाम्रो फिल्म हेर्ने दर्शकहरू र समीक्षकहरूबाट प्राप्त प्रतिक्रियाले हामी उत्साहित भएका छौं, लामाले भने, “डायस्पोरामा रहनुभएका नेपाली कला प्रेमीहरूबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा गरेका छौं।”
यो फिल्मले सार्वजनिक प्रदर्शनयता नेपाल र भारतमा उत्कृष्ट समीक्षा पाएको छ। वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित यस फिल्मले २ सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा प्रस्तुत गर्छ।
फिल्ममा अभिनेता सौगात मल्ल, अनुप विक्रम शाही र भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख भूमिकामा छन्।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको हो।
फिल्म ‘जार’का कार्यकारी निर्माताहरूमा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
सरवनन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ। फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत छ।
फिल्म ‘जार’ नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेका छन्।