पहारी, उप्रेती र सुबेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान, ढुंगाना र उप्रेतीलाई ‘श्री दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’ पहारी, उप्रेती र सुबेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान, ढुंगाना र उप्रेतीलाई ‘श्री दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’

अभिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘हरितारा फिल्म पुरस्कार’ तथा फिल्म पत्रकार विष्णु सुबेदीलाई ‘हरितारा फिल्म पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। बिहीबार राजधानीमा आयोजित भव्य समारोहका बीच पहारीलाई २०८० सालको र उप्रेती तथा सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो। फिल्म पुरस्कारमा जनही २५,००० रुपैयाँ र पत्रकारिता पुरस्कारमा १०,००० रुपैयाँ राशी समावेश छ।

महनोज शम्शेर जवरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार’ फिल्म क्षेत्रकै पहिलो पुरस्कारका रूपमा स्थापित छ। २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा अक्षयकोष स्थापना गरी यस पुरस्कारको सुरुवात गरेकी थिइन्।

परिवर्तन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा ‘श्री दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’ र ‘परिवर्तन – फिल्मकर्मी विशेष सम्मान २०८१’ पनि प्रदान गरिएको थियो। समारोहमा १०,००० रुपैयाँ राशीको ‘श्री दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गरिएको हो।

यस्तै, अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जे.बी. रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई ‘परिवर्तन – फिल्मकर्मी विशेष सम्मान २०८१’ बाट सम्मानित गरिएको छ। साथै, सञ्चारकर्मी तुलसी गिरी भावुक, सञ्चारकर्मी कृष्ण भुषाल र सञ्चारकर्मी कमला जोशीलाई ‘परिवर्तन – फिल्म पत्रकारिता सम्मान २०८१’ प्रदान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आफ्नो-आफ्नो शिल्पद्वारा विभिन्न विधामा रचनात्मक योगदान दिँदै आएका फिल्मकर्मी तथा पत्रकारलाई पुरस्कृत र सम्मानित गर्न पाएकोमा गर्वको अनुभूति भएको बताए।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्म क्षेत्रमा ‘हरितारा पुरस्कार’को छुट्टै महत्व स्थापित भएको बताए। उनले आफूले पनि ‘हरितारा फिल्म पुरस्कार’ प्राप्त गरिसकेको जनाउँदै यो पुरस्कार आफ्ना लागि सदैव विशेष महत्वको रहेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अभिनेत्री भुषणधरा भुषाल र पुरस्कृत व्यक्तित्व अभिनेता टिका पहारीले पुरस्कारको महत्वबारे प्रकाश पारे।

पुरस्कारको निर्णायक समितिमा मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय रहेका थिए। मायाङ्का राणा सिरोइयाको सभापतित्वमा सम्पन्न कार्यक्रममा फिल्म विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, वरिष्ठ अभिनेत्री चैत्य देवी, वरिष्ठ अभिनेत्री मिथिला शर्मा, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ गायिका देविका बन्दना, कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्कालगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि र फिल्मकर्मी तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। देवेन्द्र पाण्डेको संयोजनमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण माधवराज खरेलले गरेका थिए।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti