यही जेठ १५ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार दिउँसो काठमाडौंको क्युएफएक्स सिनेमा – राइजिङ मलमा आयोजित कार्यक्रममा करिब साढे चार मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै फिल्म युनिटले फिल्मले उठाउने समसामयिक विषयवस्तुका बारेमा पत्रकार तथा दर्शकलाई जानकारी गरायो।
ट्रेलरले सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा प्रस्तुत गरेको छ। यसमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा देखिन्छन्। ट्रेलरमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र होइन, ज्यान नै गुमाएका आम मानिसहरूको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिक चलखेल गर्नेहरूको दम्भ झल्किन्छ।
दैनिक आम्दानीबाट जम्मा गरेको रकमकै कारण मृत्युमा पुगेका विपन्न सदस्यहरूको दृश्यले सामाजिक असमानताको गम्भीर रूप उजागर गर्छ। सहकारी संस्थामा पहुँच भएका केही व्यक्तिले आफ्नो पद र हैसियतको दुरुपयोग गर्दै सर्वसाधारणको रकम विलासी जीवनमा कसरी खर्च गर्छन् भन्ने कथा ट्रेलरले साहसिक रूपमा उठाएको छ। ट्रेलरको अन्त्यतिर देखिएको ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने भित्ते लेखनले फिल्मले सत्य खोज्न दृढ रहेको सन्देश दिन्छ। केही दिनअघि फिल्मका कलाकारहरूले पनि सामाजिक सञ्जालमा एउटै स्टाटस ‘सत्य कहिल्यै लुक्दैन’ पोस्ट गर्दै उत्सुकता जगाएका थिए।
निर्देशक दिनेश राउतले कार्यक्रममा भने, “समाजमा सहकारीको रकम दुरुपयोग हुने घटना अहिले मात्र होइन, पहिलेदेखि भइरहेका छन्। अहिले यो विषय तातिएको कारण मात्र फिल्म बनाइएको होइन। समाजका माथिल्लो तहका केही व्यक्तिहरूले तल्लो तहका मानिसलाई प्रयोग गरी आफ्नो विलासी जीवन कसरी जिउँछन् भन्ने कथा हो यो। सहकारी त यसको एउटा पाटो मात्र हो।”
निर्माता हिमाल कडरियाले थपे, “फिल्ममा पैसा मात्रै प्रलोभन होइन, यो समाज आफैंले जन्माएको कथा हो। त्यसैबाट ‘महाभोज’को जन्म भयो।”
विकास सुवेदीद्वारा लेखिएको कथा तथा पटकथामा आधारित यस फिल्मलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन्। फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतको अभिनय रहेको छ।