निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’को निर्माण घोषणा गरेका छन्। उनले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन्। साथै उनले प्रदर्शन मिति फागुन १५ गतेलाई समेत तोकेका छन्।
सार्वजनिक गरिएको थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ। रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गर्दैछ। यसबाट थाहा हुन्छ कि यो फिल्मको कथा आमाप्रति सन्तानको माया कति छ भन्ने कुरालाई दर्शाउने छ।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा निर्माण हुने यस फिल्मको छायांकन आगामी भदौबाट सुरु हुनेछ। यो फिल्ममा को–को कलाकार रहनेछन् भन्नेबारे निर्माण पक्षले जानकारी दिएको छैन। फिल्मलाई अभिमन्यु निरवीले लेखेका हुन्। निर्देशक पन्तका अनुसार अहिले फिल्मको थिम पोस्टर मात्र सार्वजनिक गरिएको हो। केही दिनमा कलाकारहरू साथै प्राविधिक पक्षको नाम पनि सार्वजनिक गरिनेछ।
निर्देशक चन्द्रले यसअघि एक्सन जनराको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरिसकेका छन्। त्यो फिल्म उनको डेब्यु निर्देशन थियो। त्यसबाहेक उनले भोजपुरी फिल्मसहित पाँच दर्जनभन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन्। उनको निर्देशनमा बन्न लागेको ‘आ बाट आमा’ दोस्रो निर्देशकीय नेपाली फिल्म हो।
निर्देशक पन्तले फिल्म ‘ह्रस्व दीर्घ’लाई एउटा उचाइमा पुर्याएका थिए। उक्त फिल्मले राम्रो कमाइ गर्न सफल भएको थियो। नेपालमा राम्रो व्यापार गरेको उक्त फिल्मलाई भारतको लोकप्रिय ओटीटी प्लेटफर्म ‘जी फाइभ’ले पनि खरिद गरेको थियो। पहिलोपटक नेपाली फिल्मलाई ‘जी फाइभ’ले किनेको हो। विदेशमा समेत आफ्नो फिल्मले सफलता पाएपछि उनले नयाँ फिल्मको थालनी गरेका हुन्।