निर्माण पक्षले सोमबार फिल्मको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ।
सांकेतिक दृश्यमा एक व्यक्ति अस्ताउँदै गएको सूर्यको अगाडि उभिएको देखिन्छ। सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ। व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ।
सांकेतिक दृश्यमा तल्लो भागमा निलो रंग र माथि गोधूलि साँझ देखिन्छ। दृश्यमा देखिएको व्यक्ति को हो भन्ने प्रस्ट छैन। यदि उनी मुख्य पात्र हुन् भने, विजय बराल हुन सक्छन्।
दुब्लो-पातलो शरीर, अस्ताउँदै गरेको सूर्य, र ठूलो हवाइजहाजले उडेको दृश्यले उक्त व्यक्ति रोजगारीका लागि विदेश जान लागेको हो कि भन्ने संकेत गर्छ। नेपालमा ठूलो हवाइजहाजको दृश्य सामान्यतः वैदेशिक रोजगारीको विम्ब मानिन्छ।
यो फिल्म आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोराको कथा हो। आमाको खुसी फर्काउन उसले के–के गर्छ भन्ने यात्राको उतारचढाव फस्ट लुकमा देखाउने प्रयास गरिएको छ।
‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को छायांकन सकिएको छ र हाल पोस्ट–प्रोडक्सनको चरणमा छ।
फिल्मका निर्देशक हिमाल न्यौपाने हुन्। यो उनको डेब्यु निर्देशन हो।
काठमाडौं, ललितपुर, भक्तपुर, र काभ्रेमा छायांकन गरिएको यस फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोगेका अनुभव र त्यसले ल्याएको जीवनपरिवर्तनको कथा बोल्छ। फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्ध प्रस्तुत गर्नेछ।
फिल्मको असोसियट निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत हुन्।
बलियो स्टार कास्ट रहेको फिल्ममा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायत मुख्य भूमिकामा छन्।
त्यस्तै, फिल्ममा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय छ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी छन्।
फिल्मको कथा, पटकथा, र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेका छन् भने तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा, र आकाश के.सी सहायक निर्देशकका रूपमा छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी, र प्रसान्त सिवाकोटीको संगीत रहने फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमाटोग्राफी रहेको छ। फिल्मका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन्।
निर्माण पक्षले केही दिनमा फस्ट लुक पोस्टर सार्वजनिक गर्ने बताएको छ।
अल टाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो वर्षको पहिलो फिल्म हो। यस्तै, वि.सं. २०८१ मा नेपाली फिल्म उद्योगलाई ब्लकबस्टर दिने लक्ष्यसहित विजय र केकी ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ मा सँगै मुख्य भूमिकामा देखिँदै छन्।