नेपालमा ११औँ हप्तादेखि प्रदर्शन भइरहेको नेपाली फिल्म ‘अञ्जिला’ की मुख्य पात्र तथा नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको युके भ्रमण अन्तिम समयमा रोकिएको छ। फिल्म ‘अञ्जिला’ को शनिवार युकेको अल्डरसटमा हुने प्रदर्शनका लागि एञ्जिलाको उपस्थिति निश्चित भए पनि अन्तर्राष्ट्रिय खेलको कारण भ्रमण स्थगित गरिएको आयोजक न्यू होराइजन क्रिएशन लिमिटेड, युकेले जनाएको छ।
यस सम्बन्धमा एञ्जिलाले आफैंले पनि एक भिडियो सन्देश जारी गर्दै आफ्नो पहिलो प्राथमिकता फुटबल नै रहेको बताएकी छन्। उनले आफू आउने भनेर उत्साहित दर्शकसँग माफी माग्दै खेलको कारण फिल्मको प्रदर्शनमा आउन नसकेको जानकारी गराएकी हुन्। भ्रमण स्थगनसँगै युकेस्थित दर्शक तथा शुभेच्छुकहरूबीच उत्पन्न जिज्ञासा र असन्तुष्टिलाई सम्बोधन गर्दै, राष्ट्रिय जिम्मेवारीका कारण भ्रमण रोकिएको आयोजक संस्थाले एक विज्ञप्ति जारी गरी स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “एञ्जिला तुम्बापो सुब्बालाई आगामी थाइल्यान्ड र अन्य देशमा हुने अन्तर्राष्ट्रिय खेलका लागि टोलीको नेतृत्व गर्न, तयारी गराउन, प्रेस कन्फरेन्समा सहभागी हुन, बैठकहरूमा उपस्थित हुन र अन्य आधिकारिक प्रक्रिया पूरा गर्न अग्रिम रूपमा टोलीमा फर्कन बोलाइएको हो। राष्ट्रिय टोलीकी प्रमुख गोलकिपर समेत भएकाले, टिमका अन्य खेलाडीको तुलनामा उनको जिम्मेवारी र आवश्यकता बढी छ। त्यसैले उनलाई समयमै टोलीमा फर्कनु अपरिहार्य भयो।”
यो फिल्म एञ्जिलाको वास्तविक जीवनमा आधारित छ। उनको जीवनसंघर्ष र सफलतालाई पर्दामा उतारेको यस फिल्मले दर्शकहरूबाट उल्लेखनीय माया पाइरहेको छ। ‘अञ्जिला’ का निर्देशक मिलन चाम्स हुन् भने यसलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन्।