‘महाभोज’ प्रचार गर्न ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकको सडक नाटक ‘महाभोज’ प्रचार गर्न ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकको सडक नाटक

यही जेठ १५ गते बिहीबार प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘महाभोज’ले प्रचारमा नयाँ शैली अपनाउँदै विविधता ल्याएको छ। रिलिजको केही दिन मात्र बाँकी रहँदा फिल्म अहिले सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ।

शनिबार साँझ काठमाडौंको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरियो, जसबाट सयौं दर्शकलाई फिल्मको कथावस्तुबारे जानकारी गराइएको थियो। फिल्मका निर्माताका अनुसार यो अभियान फिल्म रिलिजसम्म काठमाडौंका विभिन्न स्थानहरूमा दैनिक रूपमा सञ्चालन हुनेछ।

सडक नाटकमा कलाकारहरूले प्रत्यक्ष अभिनयमार्फत सहकारी पीडित र पीडकबीचको कथा प्रस्तुत गरेका छन्। फिल्मको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यस नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन् भने लेखक सरिता कठायत हुन्। कलाकारहरूमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी रहेका छन्। नाटकको व्यवस्थापन ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपालले गरेका हुन् भने प्रस्तुति शुभआकाश टिमले दिएको हो।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख भूमिका रहेको ‘महाभोज’ फिल्म सहकारी संस्थामा बचत गरिएको रकम डुबेपछि उत्पन्न हुने पीडादायी अवस्थालाई चित्रण गर्दछ। यसमा पीडितको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेललाई समेटिएको छ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको फिल्मका निर्माता हिमाल कडरिया र लेखक विकास सुवेदी हुन्। ‘महाभोज’ नेपालसँगै विदेशका केही मुलुकहरूमा पनि एकसाथ प्रदर्शनमा आउनेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti