आगामी जेठ २३ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘जन्ते बाख्रो’को निर्माण पक्षले प्रचार अभियानलाई तीव्रता दिएको छ। सिनेमाको प्रचार नेपालका पूर्वी क्षेत्रबाट सुरु गरिएको हो।
पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरूमा प्रचार सामग्रीहरू व्यापक रूपमा प्रदर्शन गरिएको निर्माता गौतमले जानकारी दिए। ‘हामीले राम्रो सिनेमा निर्माण गरेका छौं, त्यसैले यसको जानकारी दर्शकमाझ पुर्याउन अथक प्रयास गरिरहेका छौं। झापाका प्रमुख शहरहरूमा सिनेमाका पोस्टर तथा अन्य प्रचार सामग्रीहरू राखिसकेका छौं। हाम्रो लक्ष्य देशभर ‘जन्ते बाख्रो’मय वातावरण सिर्जना गर्नु हो,’ निर्माता गौतमले भने।
सिनेमाको प्रचारका क्रममा सार्वजनिक गरिएका तीन गीत—‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’—ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। सिनेमाको ट्रेलर सोमबारदेखि इन्टरनेटमा उपलब्ध हुनेछ। गीत, संगीत तथा ट्रेलर डिजिटल पार्टनर जी टु वान डिजिटलमार्फत हेर्न सकिनेछ।
सिमोस सुनुवारको निर्देशनमा बनेको यो सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन्। निर्देशक सुनुवारका अनुसार यसको कथा विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ।
सिनेमामा हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन रहेको छ। टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले खरिद गरेको छ। निर्माण पक्षका अनुसार सिनेमा जेठ २३ गते नेपालसहित विश्वभर एकैसाथ प्रदर्शनमा आउनेछ।