अभिनेत्री रेखा थापाको डेब्यू नाटक ‘मीरा’को बुकिङ खुलेको छ। नाटक जेठ १५ गतेबाट मञ्चनमा आउँदैछ।
नाटकमा रेखा शीर्षक पात्र ‘मीरा’को भूमिकामा देखिनेछिन्।
फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमी, गैह्रीधाराको नवनिर्मित कान्तिपुर थियटरमा यो नाटक मञ्चन हुनेछ। यही नाटकबाट यस नाटकघरले आफ्नो व्यवसायिक नाटक मञ्चनको सुरुवात गर्न लागेको हो। यस नाटकघरको शिलान्यास अभिनेता राजेश हमालले गरेका थिए।
नाटकमा रेखा विद्रोही चरित्रमा देखिनेछिन्। नाटकले एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा प्रस्तुत गर्छ।
असार ७ गतेसम्म मञ्चन हुने यो नाटक दीपक सिंजालीद्वारा लिखित उपन्यास ‘मीरा’मा आधारित छ।
उपन्यासको नाट्य रूपान्तरण र निर्देशन सुन्दर धितालले गरेका हुन्।
रेखासँगै नाटकमा विशाल पहारी, विन्दा खतिवडा, विशाल देवकोटा, गीत बिस्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्का रहेका छन्।
त्यस्तै, नाटकमा संगीत तथा गायन विश्व काफ्लेको रहनेछ भने नृत्य निर्देशन दिव्या सेढाईं, भेषभूषा यमुना गुरुङ, मञ्च परिकल्पना संगीत सापकोटा, मञ्च निर्माण हुम बिसी र प्रकाश परिकल्पना आदित्य मिश्रको रहनेछ।
भूमिका खड्का नाटककी व्यवस्थापक हुन्।
नाटक प्रत्येक दिन (बुधबारबाहेक) साँझ ५:३० बजे मञ्चन हुनेछ।