भोली बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने बहुप्रतीक्षित नेपाली फिल्म ‘महाभोज’को विशेष प्रिभ्यु प्रदर्शन मङ्गलवार साँझ काठमाडौंमा सम्पन्न भयो । फिल्म रिलिजको अघिल्लो दिन आयोजित यो विशेष शोमा पत्रकार, फिल्म युनिट र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो ।
प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहोल देखिएको थियो । सहकारी पीडितहरूले फिल्मले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । फिल्म प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, “राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ ।”
यस्तै, उनीहरूले निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै फिल्मलाई देश विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनु पर्ने धारणा राखे । उनीहरूको भनाइमा, ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ ।
प्रदर्शनपछि पत्रकारहरूबाट पनि फिल्मको विषयवस्तु र प्रस्तुतिलाई लिएर सकारात्मक प्रतिक्रिया आएको छ । सामाजिक यथार्थलाई कलात्मक ढङ्गमा चित्रण गर्न सकिएको भन्दै फिल्मको प्रशंसा गरिएको छ । पत्रकारहरूले यसका निर्देशक राउतको निर्देशकीय क्षमताको व्यापक प्रशंसा गरेका छन् । ‘महाभोज’ केवल फिल्म मात्र नभई, यो एक सशक्त सामाजिक दस्तावेज पनि रहेको उनीहरूले प्रतिक्रिया दिए ।
यसैबीच, देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’को अग्रिम बुकिङ खुला गरिसकेका छन् । वितरकहरूका अनुसार यो फिल्म करिब २ सय शो सहित नेपालभर प्रदर्शन हुँदैछ ।
दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको ‘महाभोज’ सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ । फिल्मले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ । पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल फिल्मको मूल कथा बन्छ । साथमा, यस फिल्मले हास्यपरक रूपमा फिल्मका पात्रहरूलाई पनि प्रयोग गरी फिल्मलाई मनोरञ्जक समेत बनाइएको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो फिल्मले नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ ।