फिल्म ‘द ब्ल्यू लाइट’को मुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार निर्माण पक्षले मुहूर्त गरेको हो । मुहूर्तसँगै फिल्मको छायांकन २२ गते विहिबारबाटै सुरु भएको छ।

फिल्मको मुहूर्तमा फिल्मका मुख्य कलाकार अर्पण थापा, सृष्टि श्रेष्ठ, आयुष्मान जोशी लगायत प्राविधिकको उपस्थिति थियो । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस फिल्मको छायाकंन तालिका २० दिन तय गरिएको छ । ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन रहनेछ । चौहान अहिलेको प्रतिक्षित फिल्म ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । उनको यो डेब्यु निर्देशन हो।
फिल्मको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन् । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट फिल्मको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।
‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । यस्तै फिल्मको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् ।
सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।