फिल्म अञ्जिला प्रदर्शनको एक सय दिन पुग्दैछ । यस उपलक्ष्यमा दर्शकले यो फिल्मलाई रु.एक सय टिकट दरमा हेर्न पाउने भएका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले सय दिन नजिक पुग्दै गरेको उपलक्ष्यमा क्युएफएक्स सिनेमाज्ले निरन्तर प्रदर्शनमा रहेको हल सहित देशभरका अन्य केही हलमा समेत एक सय टिकट दरमा फिल्म देखाउने तयारी गरेको बताए ।
उनले भने, “दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा चलचित्र देखाउने भनेको छ । यसमा हामीले पनि समर्थन गरेका छौँ । सय दिनसम्म ऐतिहासिक रिलिज भइरहनु नेपाली चलचित्रको लागि सुखद कुरा रहेको कारण यो चलचित्र हेर्न चाहेका सबै दर्शकले हेर्न पाउन् भन्ने उद्देश्य लिएका छौँ ।“
गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ’अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ । बुधवार ९१ औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो चलचित्र निरन्तर प्रदर्शनमा छ । बिहीबारको लागि उक्त हलमा ३ वटा शो प्रदान गरिएको छ ।
मिलन चाम्सले निर्देशन गरेको ’अञ्जिला’ वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ । हालसम्म यस चलचित्रले १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन् । यो चलचित्र राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । यसमा एन्जिला आफैँले प्रमुख अभिनय गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
यसैबिच, प्रदर्शनको ९० औँ दिनमा पूर्व मन्त्री सुदन किराँतीले ’अञ्जिला’ हेरेर प्रतिक्रिया दिएका छन् । किराँतीले यो चलचित्र दुःखलाग्दो घटनाको प्रेरणादायी कथा भएको बताउँदै भनेका छन्, “पूर्वी पहाडी भेगको किराँती समाजको यो कथा हेरिरहँदा म आफैलाई हेरिरहेँ, नदेखीकन पटक पटक देखिरहेँ । आँखा बन्द गरिरहेँ तर आँसु झरिरह्यो ।“
चलचित्रका निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन् । उनी त्यहाँका विभिन्न सहरहरूमा ’अञ्जिला’ प्रदर्शनको लागि पुगेका हुन् ।