तामाङ भाषाको गीत ‘जालमाया’ को नयाँ संस्करण रिलिज तामाङ भाषाको गीत ‘जालमाया’ को नयाँ संस्करण रिलिज

तामाङ भाषाको गीत ‘जालमाया’ को नयाँ संस्करण सार्वजनिक भएको छ । गायिका निर्मला घिसिङको अफिसियल युट्युब च्यानल मार्फत प्रस्तुत गरिएको यस गीतको नयाँ संस्करणमा गायिका घिसिङसँगै गायक रमण थामीको स्वरलाई सुन्न सक्नुहुनेछ । गीतलाई अडियो प्लेटफर्म मार्फत सार्वजनिक गरेपश्चात् भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

तामाङ सिनेमा ‘जालमाया’ को शीर्षक गीत रहेको यस गीत वि.सं २०६० साल (२००३) मा गायक अमृत लामा र स्वर्गीय गायिका योगिता मोक्तानको स्वरमा रेकर्ड गरिएको थियो । फिल्म निर्माता सन्तलाल घिसिङले रचना गर्नुभएको गीतमा कुबेर दोङको सङ्गीत र उहाँकै सङ्गीत संयोजन रहेको छ ।

करिब २२ वर्षपछि रेकर्ड गरिएको ‘जालमाया’ को नयाँ संस्करणलाई भने पवन वाङ लामाले सङ्गीत संयोजन गर्नुभएको छ । सुन्दर लामाले ध्वनि सम्पादन गर्नुभएको यस गीतलाई रोशन फ्युबाले भिडियोतर्फ निर्देशन गर्नुभएको छ । तामाङ समुदायको बाक्लो बस्ती रहेको रसुवा र धादिङ जिल्लाको सुन्दर प्राकृतिक स्थलमा छायाङ्कन गरिएको यस गीतमा रन्जिता तामाङ र सोनाम तामाङको अभिनय रहेको छ। गीतमा प्रतीक ङ्यासुरको कोरियोग्राफि देख्न सकिन्छ ।

काठमाडौँ वरिपरिका जिल्लाहरूमा मुख्य बसोबास रहेको तामाङ समुदायमध्ये उत्तर(पश्चिम दिशाको पहाडी क्षेत्रतर्फ बसोबास गर्ने तामाङ समुदायको भौगोलिक विशिष्टता, सांस्कृतिक विविधता र मौलिक पहिरनलाई ‘जालमाया’ गीतमार्फत हेर्न सकिन्छ ।
पहिलो संस्करण पूर्ण तामाङ भाषामा रहेको यस गीतको नयाँ संस्करणमा श्रोता र दर्शकको रुचिलाई मनन गर्दै नेपाली भाषालाई पनि स्थान दिएको गायिका घिसिङले बताउनुभयो। केही समय अघि मात्रै साङ्गीतिक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेर फर्किएकी गायिकाले आम श्रोता र आफ्नो साङ्गीतिक शुभचिन्तकका लागि उपहार स्वरूप गीतलाई सार्वजनिक गरिएको बताउनुभयो ।

तामाङ साङ्गीतिक क्षेत्रका वरिष्ठ गायक अमृत लामा,गायिका योगिता मोक्तान र यस गीतका सम्पूर्ण स्रष्टालाई सम्मान सहित नयाँ परिवेश र युवा पुस्तामाझ पुनश्चः यस गीत सुनाउन ‘जालमाया’ को नयाँ संस्करण तयार पारिएको गायिका घिसिङले जानकारी दिनुभयो ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti