फिल्म ‘मोहर’ को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । गीतमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल फिचर्ड छन् । एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको गीतमा हर्क साउदको शब्द, एसडी योगीकै संगीत छ ।
यसअघि सार्वजनिक फिल्मको शिर्ष गीतमा नायक पल शाह र नायिका नीति शाहको जोडीलाई देखाइएको थियो । यो गीतको भिडियोमा भने पलले लामो कपाल पालेका छन् । गीतमा फिल्मकी मुख्य कलाकार मिथिला शर्मा, बाल–कलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ ।
फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ ।
फिल्मको टिजरले दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ । देउकी प्रथाको कथामा तयार भएको यो फिल्ममा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन छ । लक्ष्मण राज पौडेल निर्माण नियन्त्रक रहेको यो फिल्मको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
फिल्म मेकर्स प्रा.लिको व्यारनमा निर्माण भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ ।