फिल्म ‘रियाल रिङ्गेट’ को बुधबार प्रिमियर शो सम्पन्न भएको छ । प्रिमियरमा उपस्थित प्रायःले फिल्म हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए । नीता ढुंगाना र प्रमोद चौंलागाईं अभिनित फिल्म यो शुक्रबार साउन १६ गतेदेखि प्रदर्शन हुँदैछ।
प्रवासी नेपालीहरूको जीवनका पीडादायी पानाहरूलाई पर्दामा ल्याउने ‘रियाल रिङ्गेट’ केवल एउटा चलचित्र नभई लाखौँ नेपालीहरूको अन्तर्मनको कथा रहेको दर्शकले बताए। “नेपालका लाखौँ श्रमिकहरूको प्रतिनिधित्व चलचित्रले गरेको छ। सामाजिक, आर्थिक र राजनीतिक बाध्यताले बिदेसिनु परेको यथार्थलाई यो चलचित्रले शक्तिशाली रूपमा प्रस्तुत गरेको छ,“दर्शकले प्रतिक्रिया दिए । चलचित्रले इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको घटना सम्झाउने गरी यथार्थपरक र सशक्त दृश्यहरू पस्किएको दर्शकहरूले बताए। “नेपाली चलचित्रले पनि रुवाउन सक्छ भन्ने अनुभूति भयो,” एक दर्शकको टिप्पणी थियो, “मरुभूमिमा सपनाको भारी बोकी पुगेका नेपालीहरू कसरी जीवन त्याग्न बाध्य हुन्छन् भन्ने कुराको भयावह चित्रण यो चलचित्रले गरेको छ ।”

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ चलचित्र हेरेपछि अत्यन्त भावुक बने। उनले भने, “यो चलचित्र हेर्दा देश दुख्ने रहेछ। इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइन। ‘रियाल रिङ्गेट’ हेर्दा त्यो दिन सम्झिएँ। राज्यले जाने ढोका मात्र खोल्ने होइन, फर्कने ढोका पनि खोल्नुपर्छ, देशमै फर्किने वातावरण बनाउनुपर्छ, नत्र लाखौँ नेपाली अझै पनि विदेश जान बाध्य भइरहनेछन् र फर्किने छैनन्।”
वरिष्ठ गायक प्रेमराजा महत ले चलचित्रको प्रशंसा गर्दै भने, “धेरैपछि यसरी कुनै नेपाली चलचित्र हेरेँ। चलचित्रको कथा, अभिनय, सङ्गीत सबै उत्कृष्ट छन्। राजनीतिज्ञहरूले पनि यो चलचित्र हेर्नुपर्छ, यसले देशको वास्तविक अवस्था बुझ्न सहयोग पुर्याउँछ। ”विभोर पोखरेलको निर्देशन तथा गगनलाल प्रधानको निर्माण रहेको चलचित्रमा कलाकारहरू प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा देखिएका छन्। छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारहरूको पनि यसमा सशक्त अभिनय छ। चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन्।
चलचित्रको छायाङ्कन भारतको राजस्थान, चितवन, काठमाडौं र लेटाङमा गरिएको छ। द्वन्द्व निर्देशन रोशन श्रेष्ठले, छायाङ्कन हरि घलेले, सम्पादन विपिन मल्लले, पृष्ठभूमि सङ्गीत किरण तुलाधरले गरेका छन्। चलचित्रका गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने, स्वरमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले आवाज दिएका छन्। गीतका शब्द अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका छन्। राजीव समरको कोरियोग्राफी रहेको छ।

यसैबिच, चलचित्रको अग्रिम टिकट बुकिङ पनि सुरु भइसकेको छ। देशभर चलचित्रले देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा, दोस्रो ठुलो हल चेन आइएनआइ सिनेमा सहितका हलहरूमा एक सय हाराहारीमा शो प्राप्त गरेको वितरकले बताएका छन्। रेबेल फिल्मसको ब्यानरमा बनेको ‘रियाल रिङ्गेट’ काफिया फिल्म्सले देशव्यापी रूपमा वितरण गर्दैछ।