भद्रगोल निर्माण तथा निर्देशन गरेका अर्जुन घिमिरे (पाँडे) ले ‘झरीपछिको इन्द्रेणी’ नामक फिल्म निर्देशन गर्ने भएका छन् । फिल्मको बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा मुहूर्त गरियो ।
यो फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियाना आचार्य लगायतका कलाकारको अभिनय रहने छ । फिल्ममा अर्जुन घिमिरे (पाँडे)को अभिनय रहने कि नरहने भन्ने खुलाइएको छैन् । मुहूर्तसँगै बिहिबारबाटै छायांकन सुरु गरिएको छ । फिल्मको छायाँकन काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ। पारिवारिक कथावस्तुमा निर्माण हुने सिनेमाको छायांकन सेड्युल ४५ दिनको रखिएको छ । सिनेमामा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको छ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो सिनेमालाई बुद्ध थापाले छायांकन र सुशील कडरियाको लगानी रहनेछ । रास्वापा नेता गणेश कार्कीको समेत गीत रचना रहने सिनेमाको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ । सिनेमाको शुभमुहूर्तमा समेत बालेन पत्नी सविना काफ्ले उपस्थित भएर सफलताको शुभकामना समेत दिएकी थिइन् ।

‘झरीपछिको इन्द्रेणी’मा सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी)लाई मात्र समावेश गरिएको छ । कलाकार पनि कथाले मागेको खण्डमा भित्रिन सक्ने सिनेमाको मुहूर्तपछि मिडियासँगको कुराकानीमा निर्देशक पाँडेले बताए । यो सिनेमाबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली रजतपटमा कमव्याक गर्दैछन् । एउटा राम्रो टिमबाट कमव्याक गर्न पाउँदा आफु निकै उत्साहित रहेको कलाकार उप्रेती बताउँछन् ।