नेपाली फिचर फिल्म एक मुठी बादलः माई सेयर अफ स्काईले आउँदो वर्षको जेठ १ मा प्रदर्शन हुने भएको छ । निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो। चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।
तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने चलचित्रले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गर्नेछ । चलचित्रमा सहारा शर्माको लेखन तथा निर्देशन रहेको छ । अमेरिकाको न्युयोर्क बस्दै आएकी सहाराले यसअघि ’चेजिङ रेन्बोज’ शीर्षकको चलचित्र निर्देशन गरेकी थिइन् जुन चलचित्र २०१३ मा भएको काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको ओपनिङ चलचित्र थियो । फिक्सन फिचरका साथ महोत्सवको उद्घाटन गर्ने सबैभन्दा कान्छी महिला निर्देशक बनेकी सहाराले यही महोत्सवको नेपाली पनोरोमा तर्फको शीर्ष पुरस्कार पनि जितेकी थिइन्।
’एक मुठी बादल’ले पनि थुप्रै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ । चलचित्रले युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड प्राप्त गर्ने महिला निर्देशक निर्देशित पहिलो नेपाली चलचित्रको रुपमा इतिहासमा नाम लेखाएको छ । योबाहेक चलचित्रले विश्वका प्रतिष्ठित ल्याबसँग सहकार्यको अवसर पाएको थियो । २०२१ मा निर्माता अभिमन्यु दीक्षितले भारतको एनएफडिसी (ल्ँम्ऋ) फिल्म बजारमा रोटरेड्याम ल्याब अवार्ड प्राप्त गरेका थिए । यसैगरि चलचित्रले फ्रान्सको कान फिल्म फेस्टिभलमा मार्चे डु फिल्मसँग सम्बन्धित कार्यक्रमहरू, स्विट्जरल्याण्डको लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी र बंगलादेशको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा सहभागिता जनाएको थियो।
यो फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्। जर्मनमा बसोबास गर्ने फाजिलातले आफ्नो कम्पनी थर्ड कल्चर किड्स मार्फत् युरोप र एसियाभरि अन्तर्राष्ट्रिय स्तरमा केन्द्रित चलचित्रहरू र उदीयमान चलचित्र निर्माताहरूलाई सहयोग गर्दै आएकी छिन्। चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।
आँचल शर्माले माइली चरित्रको रुपमा केन्द्रीय भूमिका निर्वाह गरेकी छिन् भने अनुभवी अभिनेत्री निशा शर्मा तीन दशकभन्दा बढी समयपछि चलचित्र अभिनयमा फर्किएकी छिन् । चलचित्रमा उषा रजक आँचलको दिदीको भूमिकामा रहेकी छिन् ।





