नेपाली फिल्म क्षेत्रमा उम्दा अभिनय गर्ने कलाकारहरु कति होलान् ? कतिपय कलाकारहरु औषत अभिनय तर बलियो स्टारडमका कारण चलेका छन् भने कतिपय कलाकारहरु उम्दा अभिनयका कारण चर्चामा रहन्छन् ।
यीनै, कलाकारहरुको सूचीमा पर्छन् गौरव बिष्ट । गौरव बिष्टले करिब आधा दर्जन फिल्ममा मात्र अभिनय गरेका छन् । तर, उनको अभिनयले भने दर्शकको मन जितिरहेको पाइन्छ ।
फिल्म ‘परस्त्री’मा उनले गरेको अभिनयको सर्वत्र चर्चा भयो । सुरज पाण्डेको निर्देशनमा तयार भएको यो फिल्ममा उनी नायिका शिल्पा मास्केको प्रेमीको भूमिकामा देखिएका थिए ।
फिल्म ‘चि मुसी चि’बाट गौरवले अभिनयमा डेब्यू गरेका थिए । यो फिल्ममा काम गरेपछि उनी मेकरको नजरमा परे । तर, फिल्म ‘परस्त्री’मा काम गरेपछि भने उनलाई दर्शकले निकै रुचाए । फिल्म हेर्नेले उनको अभिनयको खुलैर तारिफ गरे ।
गौरवले फिल्म ‘पिताम्बर’मा गरेको अभिनयले दर्शकलाई लोभ्याएको थियो । गौरवले हालैमात्र रिलिज भएको फिल्म ‘एक मुठ्ठी बादल’मा पनि काम गरेका छन् । यो फिल्ममा उनी ड्राइभरको भूमिकामा देखिएका थिए ।
उसो त उनले फिल्म ‘के घर के डेराः घर नम्बर २’मा नायिका उपासना सिंह ठकुरीको जोडीको रुपमा काम गरेका छन् ।
अभिनयका लागि लागिपरेका यी नायक निरन्तर फिल्म क्षेत्रमा नै अगाडि बढ्ने बताउँछन् । उनी भन्छन्–‘फिल्म क्षेत्रमा आएसँगै मैले दर्शकको माया पाइरहेको छु । मेकरहरुले पनि मलाई विश्वास गर्नु भएको छ । कला क्षेत्रप्रति मेरो लगाव लामो समयदेखिको हो । यसमै समर्पित हुने रहर छ ।’
गौरव लभस्टोरी होस् या थ्रिलर, वा एक्सन नै किन नहोस् । हरेक फिल्ममा फिट देखिएका छन् । यहीकारण, आगामी दिनमा फिल्म क्षेत्रमा उनको माग अझै बढ्ने विश्वास लिन सकिन्छ ।



