घरेलुबजारमा सुपरहिट भयो ‘लालीबजार’ घरेलुबजारमा सुपरहिट भयो ‘लालीबजार’

नेपाली फिल्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा ८ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ले सार्वजनिक गरेको आइतबार मध्यरातसम्मको तथ्यांकअनुसार फिल्मले ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस कमाइ गरेको छ । बोर्डका अनुसार हालसम्म फिल्मलाई २ लाख ७६ हजार ९४४ दर्शकले हेरेका छन् ।

योसँगै वर्ष २०८३ को जेठ मध्यसम्म सर्वाधिक कमाई गर्ने फिल्म ‘लालीबजार’ बनेको छ । यसवर्ष हालसम्म प्रदर्शन भएका फिल्मको तुलनामा यो फिल्म दोब्बरले अगाडि छ । घरेलु बजारमा सुपरहिट भएसँगै यसको डिमाण्ड डायस्पोरामा समेत बढेको छ । सामाजिक सञ्जालमार्फत डायस्पोरा प्रदर्शनका लागि जिज्ञाशा आइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

निर्माता म्याक्स दीपेश खत्रीका अनुसार छिटै डायस्पोरा प्रदर्शन बारे टुङ्गो लाग्नेछ । ‘हामीले घरेलुबजार पाएको मायाले थप हौसला प्राप्त भएको छ । डायस्पोरा प्रदर्शनका लागि हामीले छलफल गरिरहेका छौँ, कुन माध्यममार्फत गर्ने भन्ने विषय छिटै टुङ्गो लगाउने छौँ । साथै नेपालमा दर्शकबाट पाएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन’, निर्माता खत्रीले भने ।        

उनले यो फिल्मले उठान गरेको विषयवस्तुलाई धेरै भन्दा धेरै दर्शकसम्म पुर्याउने आफ्नो चाहना रहेको बताए । ‘वादी समुदायकी एक महिलाले आफ्ना सन्तानको पालनपोषण र शिक्षाका लागि गरेको संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले शिक्षाको ज्योतिले पार्ने प्रभावलाई चित्रण गरेको छ । शिक्षाले समुदायलाई अगाडि बढाउन मदत गर्नुकासाथै आफ्नो अधिकारका लागि आवाज बुलन्द बनाउन मदत गर्छ । यही संदेश हामी आम दर्शकसम्म पुर्याउन चाहन्छौँ’, निर्माता खत्रीले भने ।  

यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ले प्रदर्शनको चौथो सातासम्म पनि उत्साहजनक व्यापार गरिरहेको छ । सुरुआती चरणमा कानुनी विवाद र विभिन्न विरोधको सामना गर्नुपरे पनि फिल्मले बक्स अफिसमा भने सकारात्मक परिणाम हासिल गरेको छ । फिल्मले अहिले देशभर करिब १ सय ९२ शो पाइरहेको छ, जुन चौथो सातासम्मका लागि उल्लेखनीय मानिएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti